पश्चिमी मुलुकको निर्णयप्रति नेतान्याहुको आपत्ति : गाजामा युद्ध अन्त्यको संकेत नदिने
काठमाडाैँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पश्चिमी मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको कदमप्रति कडा आपत्ति जनाएका छन् ।
उनले विश्व नेताहरूलाई पक्षपाती सञ्चारमाध्यम, कट्टरपन्थी समूह र यहुदीविरोधी भीडको दबाबमा झुकेको आरोप लगाएका छन् । न्युयोर्कमा शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले गाजामा करिब दुई वर्षदेखि जारी युद्धमाथि बढ्दो आलोचनालाई ‘इजरायलविरुद्धको राजनीतिक र कानुनी युद्ध’ भने ।
उनले फ्रान्स, बेलायत, क्यानडा र अष्ट्रेलियालगायतका मुलुकहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको निर्णयलाई ‘लाजमर्दो र निन्दनीय’ भन्दै विरोध गरे ।
महासभामा नेतान्याहुको सम्बोधन सुन्न कयौं प्रतिनिधिमण्डल बाहिरिएको कारण हल प्रायः खाली रह्यो। तर उनले हमास, इरान र पश्चिमी मुलुकहरूलाई आक्रमण गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति भने प्रशंसा व्यक्त गरे। इरानको परमाणु कार्यक्रमबारे सतर्क रहनुपर्ने उनले जोड दिए।
गाजामा रहेका बन्धकलाई सम्बोधन गर्दै नेतान्याहुले “यदि बाँकी ४८ जनालाई तत्कालै छोडिएन भने इजरायलले जहाँ भए पनि खोज्नेछ” भने। तर बन्धक परिवारहरूले उनको भाषणप्रति असन्तुष्टि जनाउँदै केही नामसमेत बेवास्ता गरिएको आरोप लगाए।
युद्ध अन्त्यको कुनै संकेत नदिएका नेतान्याहुको अडान अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइसँग विपरीत देखिन्छ । ट्रम्प प्रशासनले हालै २१ बुँदे युद्धविराम योजना अघि सारेको छ, जसमा ४८ घण्टाभित्र सबै बन्धकलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने व्यवस्था गरिएको छ । यसबारे यसै हप्ता केही अरब नेताहरूसँग छलफल भए पनि हमासलाई औपचारिक रूपमा बुझाइएको छ कि छैन भन्ने स्पष्ट छैन ।
युद्धविराम योजनामा हमासलाई शासनबाट अलग राख्ने, गाजामा अन्तरिम शासन प्रणाली बनाउने र संयुक्त राष्ट्रसंघमार्फत मानवीय सहायता उपलब्ध गराउने प्रावधान समावेश छ तर प्यालेस्टिनी प्राधिकरणलाई नेतृत्व हस्तान्तरण गर्ने समयसीमा तोकिएको छैन।
अरब नेताहरूले योजनालाई ‘पूर्ण नभए पनि सम्भावित समाधान’ का रूपमा हेरेका छन्। राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भने, “हामी गाजामा सम्झौतासम्म पुग्न धेरै नजिक छौं।” उनी सोमबार नेतान्याहुसँग भेट्ने तयारीमा छन्।








