२३ बैशाख २०८१, आइतबार

विप्लव नेकपाद्धारा अहिले चन्दा नउठाएको प्रष्टिकरण, बदनाम गर्ने सकृय रहेको दाबी

प्रकाशित मिति :  22 June, 2020 10:40 am


????????????????????????????????????

काठमाडौं, ८ असार ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले कुनै पनि प्रकारको आर्थिक गतिविधि सञ्चालन नगरेको प्रष्ट पारेको छ । मुलुक कोरोना महामारीको चपेटामा परिरहेका बेला आफ्नो पार्टीले कुनै प्रकारका आर्थिक गतिविधि सञ्चालन गरेको प्रष्ट पारेको छ ।

उपत्यका ब्यूरो विशेष इन्चार्ज मिलनले आज विज्ञप्ति जारी गर्दै भनेका छन्,‘विश्व कोभिड १९ को महामारीको चपेटामा परेको सन्दर्भमा हाम्रो पार्टी सबै प्रकारका आक्रामक फौजी कारबाहीहरू बन्द गरेर जनताको सेवामा लागिरहेको कुरा न्यायप्रेमी जनसुमदायलाई अवगत नै छ । अतः यो परिवेशमा पार्टीले कुनै पनि प्रकारको आर्थिक गतिविधिसमेत सञ्चालन नगरिरहेको सन्दर्भमा सरकारकै संरक्षणमा रहेका कतिपय तत्वहरू र पार्टीबाट कारबाहीमा परी निष्कासित गरिएका भगौडाहरूलाई प्रयोग गरेर लुटेरा गतिविधिमा परिचालन गरिएको पाइएको छ ।’

विज्ञप्तिमार्फत नेकपाले जोर–जबर्जस्ती चन्दा असुली गर्न प्रयत्न गर्ने, उद्योगी–व्यवसायीहरूलाई धम्क्याउने र सहयोगीहरूलाई चिढ्याउनेजस्ता कार्य गरेर हाम्रो पार्टीलाई बदनाम गराउन खोज्ने कार्य भएको बुझिन आएको भन्दै यसप्रकारका गलत र लुटेरा तत्वहरूलाई पार्टीले उपयुक्त समयमा उचित कारबाही गर्ने चेतावनी दिएको छ नै छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘सम्पूर्ण तप्काका सहयोगी मित्रहरू र जनसमुदायलाई यसप्रकारका लुटेरा गतिविधिसँग सचेत रहन हाम्रो पार्टी हार्दिक अपिल गर्दै सम्पूर्ण सहयोगी मित्रहरूलाई पार्टीको आधिकारिक र साङ्गठानिक प्रक्रियामा जोडिनसमेत हार्दिक अपिल गर्दछ ।’

मिलनद्धारा जारी विज्ञप्तिमा पछिल्लो चरण नेपालको पत्रकारिताको क्षेत्रमा घुसेका छद्म–घुसपैठियाहरू, एजेन्टका पनि एजेन्टहरू,सरकारबाट मासिक तलब खाएर परिचालित खुफियाहरू र पार्टीबाट निष्कासित क्रान्तिविरोधी कतिपय भगौडा तत्वहरूलाई समेत प्रयोग गरेर आफ्नो पार्टी र क्रान्तिका विरुद्ध आधारहीन, तथ्यहीन, गलत, भ्रमपूर्ण र अनावश्यक सूचना सम्प्रेषण गर्ने गरेको आरोप लगाईएको छ ।

सरकारले शान्तिपूर्ण कार्यक्रममा गिरफ्तारीमा परेका नेता तथा कार्यकर्तालाई प्रहरीकै विस्फोटक पदार्थ र थोत्रा हतियारहरू भिराउने र जोर–जबर्जस्ती हस्ताक्षर गर्न लगाउने, झुक्याउँदै फसाउन खोज्ने, आत्मसमर्पण गर्न दबाब दिने, झूट्टा मुद्दा लगाएर देशभरका हिरासत घुमाउनेजस्ता सामान्य लोकतन्त्रको पनि उपहास हुनेगरी घृणित र निर्लज्ज कार्य गरिरहेको विप्लव नेतृत्व नेकपाको भनाई छ ।

नेकपाले आफ्नो विज्ञप्तिमा भनेको छ,‘यसको पछिल्लो उदाहरण हाम्रो पार्टीसँग अहिले कुनै पनि सम्बन्ध नै नरहेको श्याम महर्जनको गिरफ्तारीको हवाला दिँदै हाम्रो पार्टीको नाम जोडेर ठूलो परिमाणको विस्फोटक पदार्थ हात पारिएको नाटक मञ्चन गर्नु हो ।’



प्रतिक्रिया दिनुहोस !