१६ बैशाख २०८१, आइतबार

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डामाथी छलफल

प्रकाशित मिति :  24 June, 2020 12:44 pm


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, १० असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठकमा विभिन्न पाँचवटा एजेण्डा छलफलका लागि पेश भएको छ ।  बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ ।

नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम,कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य, पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ । एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।

अमेरीकी सहयोग परियोजना एमसीसीबारे चर्को मदभेद छ भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग शक्ति बाँडफाँटका विषयमा पछिल्लो पटक गरेको सहमति पालना नगरेको भन्दै एक पंक्ति असन्तुष्ट छ ।

नेताहरु सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति असन्तुष्ट छन् । यसअघि मंसिर २९ गतेदेखि एकहप्तासम्म स्थायी कमिटी बैठक बसेको थियो। बैठकबारे हिजो मात्रै अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डले छलफल गरेका थिए ।

गत बैशाखमा सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सर्वत्र विरोध भएको थियो। विवादपछि स्थायी समितिका २० सदस्यले तत्काल बैठक राख्न माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका थिए।

दबाब बढेपछि बैशाखको २५ गते बैठक बस्ने तय भएपनि स्थगित भएको थियो। त्यसपछि ३१ गतेलाई तोकिएको बैठक पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थगित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !