१६ बैशाख २०८१, आइतबार

सत्तारुढ नेकपाका अध्यक्ष ओलीद्धारा जिम्मेवार भएर प्रस्तुत हुन स्थायी कमिटी सदस्यहरुलाई आग्रह

प्रकाशित मिति :  24 June, 2020 3:28 pm


काठमाडौं, १० असार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवार भएर छलफलका लागि पार्टीका स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीका सकारात्मक नाकारात्मक सबै पक्षबारे आफ्नो धारणा राख्दै बैठकमा जिम्मेवार भएर प्रस्तुत हुन सदस्यहरुलाई आग्रह गरेका हुन् ।

बैठकले अत्यन्त सकारात्मक सन्देश दिने गरि स्वस्थ र जिम्मेवार भएर छलफल गर्न अध्यक्ष ओलीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठपछि पत्रकारसँग उनले भने,‘बैठकमा सम्मानीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समग्र परस्थितिबारे धारणा राख्दै सकारात्मक र कमजोर पाटाहरु तथा देशको समग्र परिथितिहरुमा गर्नुपर्ने कार्यभारहरुमा समिक्षा गरौं र बैठकले अत्यन्त सकारात्मक सन्देश दिने गरि बैठकमा स्वस्थ्य, आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल अगाडि बढाउन भनेर उहाँले भन्नुभयो ।’

अर्का अध्यक्ष प्रचण्डले पनि बैठकलाई सम्बोधन गरेका छन् । प्रवक्ता श्रेष्ठले भने,‘अर्का अध्यक्ष प्रचण्डले पनि आफ्ना विचार राख्नुभयो र विचार राख्नेक्रममा कम्युनिष्ट आन्दोलन,देशको परिस्थिति र हाम्रो आदर्श सबैलाई केन्द्र विन्दुमा राखेर हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे गम्भिरतापूर्वक छलफल गरौं, छलफलका आधारमा सकारात्मक निष्कर्ष निकालौं र त्यसको निम्ति हामी सबैले के के कमजोरी भएका छन् त्यसको समिक्षा गरेर कति जिम्मेवारी लिनुपर्ने हो त्यो पनि लिउँ भन्नुभयो ।’

आजको बैठकमा दुबै अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले बैठकको एजेण्डा प्रस्तुत गरेका थिए ।

आजको बैठकले वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा,नेपालको सीमा समस्या र समाधानबारे, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने,एमसीसी, र विविध अन्तर्गत रूकुम घटना नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्तासम्बन्धी एजेण्डा तय गरेको छ ।

अमेरीकी सहयोग परियोजना एमसीसीबारे चर्को मदभेद छ भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग शक्ति बाँडफाँटका विषयमा पछिल्लो पटक गरेको सहमति पालना नगरेको भन्दै एक पंक्ति असन्तुष्ट छ ।

नेताहरु सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति असन्तुष्ट छन् । यसअघि मंसिर २९ गतेदेखि एकहप्तासम्म स्थायी कमिटी बैठक बसेको थियो। बैठकबारे हिजो मात्रै अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डले छलफल गरेका थिए ।

गत बैशाखमा सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सर्वत्र विरोध भएको थियो। विवादपछि स्थायी समितिका २० सदस्यले तत्काल बैठक राख्न माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका थिए।

दबाब बढेपछि बैशाखको २५ गते बैठक बस्ने तय भएपनि स्थगित भएको थियो। त्यसपछि ३१ गतेलाई तोकिएको बैठक पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थगित गरिएको थियो ।

पार्टीका नेताले सार्वजनिक रुपमै सरकारको कामकारवाही र नेतृत्वका आलोचना भएपछि प्रधानमन्त्री ओलीले जिम्मेवार भएर बोल्न बैठकमै आग्रह गरेका छन् । अर्को बैठक असार १२ गते विहान बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !