एनपीएलको उपाधि भिडन्त : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स फाइनलमा
दाङ (देउखुरी) । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स फाइनल भिडन्तमा आमनेसामने हुने भएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गर्यो ।
लक्ष्य पछ्याउँदै विराटनगर धरासायी
१३५ रनको लक्ष्य पछ्याएको विराटनगरको पुछार बल्लियो । टोली १७.५ ओभरमै ९४ रनमा अलआउट भयो । लुम्बिनीका लागि तिलक भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए ।
रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अविषेष गौतमले २/२ विकेट हात पारे भने शेर मल्लले १ विकेट लिए । यसअघि पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
लुम्बिनीको इनिङ : सर्ट–पौडेलको साझेदारीले दियो आधार
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनायो । ओपनर दिनेश अधिकारी १ रनमै आउट भए पनि डी’आर्ची सर्ट र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै पारी उभ्याए ।
- डी’आर्ची सर्ट – ४५ रन (४१ बल, १ छक्का, ३ चौका)
- रोहित पौडेल – ३४ रन (३० बल, २ छक्का, २ चौका)
- निरोसन डिक्वेला – २९ रन (२२ बल, ४ चौका)
अन्त्यतिर सन्दीप जोरा, जेजे स्मिथ र दिलीप नाथले योगदान दिन नसके पनि ट्रम्पलम्यान (११*) र शेर मल्ल (७) ले सानो तर उपयोगी योगदान थपे ।
विराटनगरका बलर सुवाष भण्डारी चम्किए
बलिङतर्फ विराटनगरका सुवाष भण्डारी सबैभन्दा प्रभावकारी रहे। उनले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन दिँदै ३ विकेट लिए। प्रतिस जीसीले पनि ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।
अब एनपीएल २०२५ को उपाधि फाइनल शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै टोली उत्कृष्ट फर्ममा रहेको अवस्थामा उपाधि भिडन्त अत्यन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।








