एनपीएल–२ को उपाधि लुम्बिनी लायन्सलाई : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले नयाँ च्याम्पियन पाएको छ-लुम्बिनी लायन्स । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पूर्णतः नियन्त्रणमा राख्दै लुम्बिनीले केवल ९ ओभरमै उपाधि टुंग्यायो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै ८५ रनमा समेटियो । सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले कुनै दबाब नलिँदै सहज रूपमा खेल समाप्त गर्यो।
यससँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित हुन पुगेको छ।
उपाधिसँगै पुरस्कारको वर्षा
विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ हात पार्यो। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ पायो। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणकै पुरस्कार संरचना निरन्तरता दिएको हो।
रोहित पौडेलको ‘अलराउन्ड शो’
लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताका सबैभन्दा चर्चित खेलाडी बने। उनले उत्कृष्ट नेपाली खेलाडीको पुरस्कारस्वरूप कार पाए । यो सिजन रोहितले २७४ रन र १० विकेट लिए भने फाइनल खेलमै ह्याट्रिक विकेट लिँदै टोलीको जित सुनिश्चित गरे। त्यसैगरी प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याटर बनेका रोहितले पल्सर मोटरसाइकल पनि प्राप्त गरे।
अन्य पुरस्कारहरू
उदयीमान खेलाडी : शेर मल्ल (लुम्बिनी लायन्स) – पल्सर मोटरसाइकल
उत्कृष्ट बलर : सन्दीप लामिछाने (विराटनगर किंग्स) – पल्सर मोटरसाइकल
रेडबुल ‘इर्नजेटिक प्लेयर अफ द टुर्नामेन्ट’ : अभिनास बोहरा (सुदूरपश्चिम) – २ लाख नगद
प्लेयर अफ द टुर्नामेन्ट : रुबेन ट्रम्पेलम्यान (लुम्बिनी) – ५ लाख नगद
कम स्कोरमा विपक्षीलाई रोक्ने बलिङ अनुशासन, आक्रामक तर संयमित ब्याटिङ र कप्तानको अलराउन्ड प्रदर्शन—यी सबै कारणले एनपीएल दोस्रो संस्करणमा लुम्बिनी लायन्सको उपाधि जित केवल संयोग नभई योजनाबद्ध सफलता सावित भयो।








