पुस १३ गते लुम्बिनी प्रदेश ‘साक्षर प्रदेश’ घोषणा हुँदै
एक वर्षमा ५४ हजार विद्यार्थी घटे : अझै ४७ हजार ६ सय ३३ जना विद्यार्थी विद्यालय बाहिर
दाङ (देउखुरी) । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले यही पुस १३ गते औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गर्ने जानकारी दिएकाे छ ।
सामाजिक विकास डिभिजन प्रमुख बेगम केसीले प्रदेशका सबै जिल्ला साक्षर घोषणा भइसकेकाले अब प्रदेशस्तरमै साक्षर घोषणा गर्न लागिएको लुम्बिनी सञ्चारलाई जानकारी दिए । उनका अनुसार साक्षर प्रदेश घोषणा कार्यक्रमको औपचारिक घोषणा मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नेछन् ।
देउखुरी उपत्यकामा विशेष झाँकी र सहभागिता
घोषणा कार्यक्रममा देउखुरी उपत्यकाका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकाको पहिचान झल्कने तथा शिक्षाको महत्व उजागर गर्ने झाँकी प्रस्तुत गरिनेछ ।
उक्त अवसरमा चारवटै पालिकाका विद्यार्थी, शिक्षक र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहने मन्त्रालयले जनाएको छ। कार्यक्रम सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा सञ्चालन हुने डिभिजन प्रमुख केसीले जानकारी दिए ।
पाल्पा प्रथम-कपिलवस्तु अन्तित
डिभिजन प्रमुख केसीका अनुसार साक्षरता अभियान पाल्पा जिल्लाबाट सुरु भई कपिलवस्तुमा पुगेर टुंगिएको हो। सबै जिल्लाले साक्षरतासम्बन्धी आवश्यक इन्डिकेटर पूरा गरेपछि प्रदेशलाई साक्षर घोषणा गर्न लागिएको उनले बताए ।
घट्दो विद्यार्थी संख्या सरकारका लागि चुनौती
मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए । संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा कार्यान्वयनमा अझै समस्या रहेको उल्लेख गर्दै उहाँले प्रदेशमा विद्यार्थी संख्या दिनप्रतिदिन घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
उनका अनुसार अघिल्लो वर्ष प्रदेशभर करिब १३ लाख विद्यार्थी अध्ययनरत रहेकामा यस वर्ष त्यो संख्या घटेर १२ लाख ४६ हजारमा झरेको छ, जसअनुसार करिब ५४ हजार विद्यार्थी घटेका छन् । अझै ४७ हजार ६ सय ३३ जना विद्यार्थी विद्यालय बाहिर रहेको तथ्यांकले देखाएको उनले जानकारी दिए।
मन्त्री तिमिल्सिनाले राज्यले पूर्ण रूपमा निःशुल्क शिक्षा उपलब्ध गराउन नसकिरहेको स्वीकार गर्दै त्यसतर्फ निरन्तर प्रयास जारी रहेको र सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए । लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गर्ने तयारीलाई प्रदेशको शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।








