९ पुस २०८२, बुधबार

लुम्बिनी मेडिकल कलेजको स्वामित्वमा ठूलो फेरबदल : संस्थापक पोखरेल समूह बाहिरियो

प्रकाशित मिति :  24 December, 2025 6:55 am


दाङ (देउखुरी) । पाल्पाको प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजबाट संस्थापक गोपाल पोखरेल नेतृत्वको समूह औपचारिक रूपमा बाहिरिएको छ ।

पोखरेलसहितको समूहले आफ्नो स्वामित्वमा रहेको सेयरको ठूलो हिस्सा आइटी उद्यमी दिनेश सिलवाल नेतृत्वको समूहलाई बिक्री गरेको हो ।

१३५ जना संस्थापक सेयरधनी रहेको कलेजको करिब ६१ प्रतिशत स्वामित्व सिलवाल समूहले खरिद गरेको छ । २ अर्ब रुपैयाँ मूल्याङ्कन गरिएको कलेजमा सिलवाल समूहले १ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको जनाइएको छ । नयाँ व्यवस्थापनले गत शनिबारदेखि कलेजको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेको छ ।

सेयर किनबेचसँगै पोखरेल नेतृत्वको सञ्चालक समिति विदा भएको छ । नयाँ सञ्चालक समितिको अध्यक्षमा दिनेश सिलवाल चयन भएका छन् भने प्रबन्ध निर्देशकमा डा. बलभद्र अधिकारी नियुक्त भएका छन् । सञ्चालक समिति सदस्यमा निर्दोष खनाल, दिवेश लोहनी र गोविन्द उपाध्याय चयन भएका छन् ।

स्वामित्व हस्तान्तरणबारे प्रतिक्रिया दिँदै पोखरेलले भने, “मैले जीवनको महत्वपूर्ण २० वर्ष लुम्बिनी मेडिकल कलेजमा खर्चिएँ। अब नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गरेको छु र थोरै सेयर मात्र बाँकी राखेको छु।”

पोखरेलले अब आफ्नो ध्यान बुटवलस्थित देवदह मेडिकल कलेजमा केन्द्रित गर्ने बताएका छन् । “देवदह कलेजलाई अझ प्रभावकारी बनाउने योजना छ। लुम्बिनी मेडिकल कलेजमा मैले धेरै मेहनत र ऊर्जाशील समय बिताएँ। नयाँ व्यवस्थापनले यसलाई अझ अगाडि लैजाने विश्वास लिएको छु,” उनले भने।

पोखरेलको अगुवाइमा विसं. २०६२ सालमा सञ्चालनमा आएको लुम्बिनी मेडिकल कलेज करिब ३११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

झण्डै दुई दशकदेखि चिकित्सा शिक्षा प्रदान गर्दै आएको कलेजले दैनिक बहिरंग विभागमार्फत ५ सयभन्दा बढी बिरामी र अन्तरंग विभागमा ५०० शैयाबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको जनाएको छ।

कलेजमा स्नातकोत्तर तहमा एम.डी./एम.एस., स्नातक तहमा एम.बि.बि.एस. तथा बि.एस्सी नर्सिङ् कार्यक्रम सञ्चालन हुँदै आएका छन्।



प्रतिक्रिया दिनुहोस !