देशभर ‘क्रिसमस डे’ मनाइदै : आज सार्वजनिक बिदा
दाङ (देउखुरी) । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ । प्रेम, शान्ति र मुक्तिको सन्देश बोकेको यो पर्व नेपालमा पछिल्ला वर्षहरूमा धार्मिक सीमाभन्दा बाहिर निस्केर सामाजिक र सांस्कृतिक उत्सवको रूपमा विस्तार हुँदै गएको देखिन्छ ।
आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ ।
कुमारी मरियमबाट पवित्र आत्माद्वारा जन्मिएका येशु ख्रीष्टले मानव समाजलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको विश्वासका आधारमा क्रिश्चियन समुदायले क्रिसमसलाई तीन अर्थपूर्ण दिवस प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउँदै आएको छ ।
नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराज का अनुसार नेपालमा विसं २०६३ पछि क्रिसमसलाई महासङ्घीय स्तरमै महोत्सवको रूप दिइएको हो ।
उनका अनुसार आज महासङ्घ मूल समारोह समितिको आयोजनामा ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ, जहाँ सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी र मानव अधिकारकर्मीहरूको सहभागिता रहनेछ।
क्रिसमसको सार्वजनिक उत्सव नेपालमा राजनीतिक परिवर्तनपछिको समावेशी अभ्याससँग पनि जोडिएको देखिन्छ। विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको यो पर्व २०७५–२०७७ बीच क्रिश्चियन धर्मावलम्बीमा सीमित गरिएको थियो। तर २०७८ यता फेरि सबैका लागि सार्वजनिक बिदा पुनःस्थापित गरिएको छ, जसले धार्मिक स्वतन्त्रता र समानताको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।
पछिल्ला वर्षहरूमा क्रिसमसको रौनक मुख्य सहर र पर्यटकीय केन्द्रहरूमा झनै बढेको छ। ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता स्थानहरूमा क्रिसमस ‘ट्री’, बत्ती र सांगीतिक कार्यक्रमले सहर झिलिमिली बनेका छन्। यसले धार्मिक पर्वसँगै पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
महासङ्घको तथ्याङ्कअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्। क्रिसमसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएसँगै आज विद्यालय, कलेज, बैंक तथा वित्तीय संस्था, सेयर बजार, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरू बन्द छन्।
यसरी, क्रिसमस डे नेपालमा अब केवल धार्मिक पर्व मात्र नभई सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक सहअस्तित्वको प्रतीकका रूपमा स्थापित हुँदै गएको देखिन्छ।








