‘नयाँ’ को लेबलले मात्रै राजनीतिक विकल्प बन्दैन-महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली राजनीतिमा ‘नयाँ र पुरानो’ भन्ने बहसलाई निरर्थक ठहर गर्दै राजनीतिको मूल्यांकन नीति, एजेन्डा र गन्तव्यका आधारमा हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले केवल ‘नयाँ’ को लेबल लगाउँदैमा राजनीतिक विकल्प निर्माण नहुने स्पष्ट पारेका हुन् ।
महासचिव पोखरेलले नेपाललाई बंगलादेशजस्तै बनाउने उद्देश्यसहित अघि सारिएका गतिविधिहरू असफल हुँदै गएपछि पुराना दललाई पराजित गर्न ‘नयाँ शक्तिहरू मिल्नुपर्छ’ भन्ने बहस जबर्जस्ती उठाउन खोजिएको टिप्पणी गरेका छन् । उनका अनुसार राजनीतिमा पुरानो वा नयाँभन्दा पनि स्पष्ट नीति, विचार र दिशानिर्देशन नै निर्णायक हुन्छ।
उनले भनेका छन्, “पार्टीहरूको इतिहास पुरानो हुन सक्छ, तर नीति र नेतृत्व समयअनुसार परिमार्जन भइरहेमा ती पार्टीहरू सधैँ जीवन्त र सान्दर्भिक रहन्छन् । समयसँग अद्यावधिक हुन नसक्ने दलहरू मात्रै समाप्त हुन्छन्, जसका दृष्टान्त नेपाली राजनीतिमा प्रशस्त छन्।”
महासचिव पोखरेलले नेकपा (एमाले) लाई नीति र नेतृत्व निरन्तर परिमार्जन गर्दै आएको दलका रूपमा प्रस्तुत गर्दै वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प रहेको दाबी गरेका छन् । एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरूले ‘नयाँहरू मिल्नुपर्छ’ भन्ने बहस अघि सारेको उनको भनाइ छ।
उनले ‘को नयाँ ?’ भन्ने प्रश्न उठाउँदै रवि, बालेन, हर्क साम्पाङ र कुलमान जस्ता व्यक्तिहरू नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै रूपमा परीक्षण भइसकेको उल्लेख गरेका छन् ।
साथै ‘जेन–जी’ लाई संगठित राजनीतिक शक्ति नभई सूचना–प्रविधिसँग हुर्किएको उमेर समूहका रूपमा व्याख्या गर्दै, यस समूहलाई जननिर्वाचित सत्ताविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच बाह्य पूँजीवादी–साम्राज्यवादी शक्तिहरूबाट विकसित गरिएको आरोप पनि लगाए।
पोखरेलले ‘डिप–स्टेट’ र ‘कलर रिभोलुसन’ जस्ता अवधारणामार्फत जननिर्वाचित सत्ता र जनतामा जरा गाडेका नेतृत्वलाई कमजोर बनाउने षड्यन्त्र हुने गरेको दाबी गरेका छन् ।
नेपालमा समेत केही अभियानहरूमा घुसपैठ गराई त्यही दिशातर्फ धकेल्ने प्रयास भएको बताए तर नेपाली समाज र नवयुवाहरूको ठूलो हिस्साले ती षड्यन्त्र चाँडै बुझिसकेको उनको भनाइ छ।
भदौ २३ को प्रदर्शनका अभियानकर्ताहरू नै अहिले षड्यन्त्रविरुद्ध प्रतिवादका लागि एमाले नेतृत्वसँग निरन्तर संवादमा रहेको उनले उल्लेख गरेका छन् ।
महासचिव पोखरेलका अनुसार, चौतर्फी घेराबन्दीका बाबजुद पनि नवयुवामाझ नेकपा (एमाले) तथाकथित ‘नयाँ’ भनिने शक्तिहरूभन्दा लोकप्रिय छ ।
पछिल्लो समय देशविरुद्ध भइरहेका षड्यन्त्रबारे बुझाइ बढ्दै जाँदा युवाहरू एमालेप्रति अझ प्रतिबद्ध बन्दै गएको र पार्टी तथा यसको नेतृत्व देशका लागि अपरिहार्य रहेको अनुभूति उनीहरूले गर्न थालेको उनको निष्कर्ष छ।
उनले अन्त्यमा ‘पुरानाविरुद्ध जसरी पनि नयाँलाई मिलाउने’ पछिल्ला प्रयासहरू अब सान्दर्भिक नरहेको टिप्पणी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।









