१ चैत्र २०८२, आइतबार

पूर्व घटक नेकपा माओवादी केन्द्रबाट एकल उम्मेदवार सिफारिस : नेकपा दाङभित्र समन्वयको प्रश्न

प्रकाशित मिति :  27 December, 2025 6:11 pm


दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङका पूर्व घटक दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक्लाएक्लै उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेकपाका पूर्व घटकहरूले पार्टी एकतापछि जिल्लामा संरचना निर्माण नभइसकेको अवस्थालाई आधार बनाएर पूर्ववत् पार्टीकै लेटरप्याड प्रयोग गरी समानुपातिक उम्मेदवार सिफारिस सुरु गरेका हुन्।

नेकपाको महत्वपूर्ण पूर्व घटक नेकपा माओवादी केन्द्र दाङले पूर्व पार्टीकै लेटरप्याड प्रयोग गर्दै १४ जना समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

सिफारिस सूचीमा नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान उपाध्यक्ष उदय जी.एम. र अधिवक्ता सुशीला चौधरीसमेत समेटिएका छन्।

सिफारिस गरिएकामा जनजाति महिला कोटातर्फ भिमकुमारी बुढा, थारु/अपाङ्गतर्फ रामबहादुर दहित, खस आर्यतर्फ शेषुराम भण्डारी, थारु पुरुषतर्फ प्रकाश चौधरी, जनजाति पुरुषतर्फ उदय जी.एम., दलित महिलातर्फ पुनम शेरपाईली, खस आर्य घाइते अपाङ्गतर्फ ईश्वरी पाण्डे, मधेसी पुरुषतर्फ मिश्रीलाल गुप्ता, अल्पसंख्यक लोपोन्मुखतर्फ लिला कुमाल, खस आर्य महिलातर्फ गंगा पाण्डे, मुस्लिम पुरुषतर्फ कुत्बुद्धिन फारुकी, दलित घाइते पुरुषतर्फ चुडामणि नेपाली, महिला शहीद परिवारतर्फ सुशीला चौधरी तथा नवयुवा शहीद सन्तानतर्फ एमेशन चौधरी रहेका छन् ।

जिल्ला सचिव विश्वराज आचार्यका अनुसार पार्टी एकतापछि जिल्लाको संरचना पूर्ण रूपमा नबनिसकेको सन्दर्भमा केन्द्रको निर्देशनअनुसार पूर्ववत् पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस गरिएको हो । उनका अनुसार भोलि आइतबार संयुक्त बैठक बसेर प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिनेछ ।

यता नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले पनि भोलि आइतबार बस्ने बैठकबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार सिफारिस गरिने जानकारी दिएका छन् ।

लुम्बिनी सञ्चारसँगको कुराकानीमा पूर्व एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका चौधरीले एक्लाएक्लै उम्मेदवार सिफारिस गर्दा पार्टीभित्र सकारात्मक सन्देश नजाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !