१२ पुस २०८२, शनिबार

तेस्रो वर्ष पनि गोरखा माविकै हातमा राष्ट्रपति रनिङ शिल्ड

प्रकाशित मिति :  27 December, 2025 8:43 pm


दाङ (देउखुरी) । लमही नगरपालिकाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले नगरभित्रको विद्यालय खेलकुद प्रतिस्पर्धालाई फेरि एकपटक केन्द्रमा ल्याएको छ ।

माध्यमिक विद्यालयतर्फ सार्वजनिक गरिएको पदक तालिकाले खेलकुदमा निरन्तर अभ्यास, व्यवस्थापन र अनुशासनको महत्व स्पष्ट पारेको छ।

देउपुरस्थित गोरखा माध्यमिक विद्यालय ले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल २६ पदक जित्दै नगर प्रथम स्थान हात पारेको छ ।

यससँगै गोरखाले लगातार तेस्रो पटक रनिङशिल्ड आफ्नो नाममा सुरक्षित गरेको छ। विद्यालय प्रशासनका अनुसार निरन्तर तयारी, प्रशिक्षकको समर्पण र विद्यार्थीको मेहनत नै यो सफलताको मुख्य आधार बनेको हो।

यसपटकको प्रतिस्पर्धामा आदर्श माध्यमिक विद्यालय देउपुर ले १९ पदकसहित नगर द्वितीय स्थान प्राप्त गर्दै बलियो उपस्थिति जनाएको छ।

त्यसैगरी माध्यमिक विद्यालय फल्कापुर तेस्रो र रोजी बड्स माध्यमिक विद्यालय कोलही चतुर्थ स्थानमा सीमित भए। ज्ञान ज्योती माध्यमिक विद्यालय लमही ले पाँचौँ स्थान हासिल गर्दै उदीयमान प्रतिभाको संकेत गरेको आयोजकको भनाइ छ।

प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको उल्लेखनीय सहभागिताले विद्यालयस्तरमै खेलकुदप्रति बढ्दो आकर्षण देखाएको छ। नगरपालिकाका अनुसार यस्ता प्रतियोगिताले केवल पदक जित्ने प्रतिस्पर्धा मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छन्।

शनिबार आयोजित समापन समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम जोगराज चौधरीको अध्यक्षता तथा नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। नगरपालिकाले आगामी वर्षहरूमा समेत विद्यालय खेलकुदलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !