१५ पुस २०८२, मंगलबार

लुम्बिनीबाट सात प्रतिनिधि अघि सार्दै रास्वपाले बुझायो समानुपातिक बन्दसूची

प्रकाशित मिति :  30 December, 2025 7:46 am


काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ । पार्टीले लुम्बिनी प्रदेशबाट सात जना उम्मेदवार समेट्दै समावेशी र सन्तुलित सूची प्रस्तुत गरेको जनाएको छ ।

बन्दसूचीमा खस आर्य पुरुषतर्फ दाङका विपिन आचार्य परेका छन् । पार्टीका सहमहामन्त्रीसमेत रहेका आचार्य पार्टी स्थापनादेखि संगठन निर्माण र नेतृत्व विकासमा सक्रिय रहँदै आएका नेता हुन् । निरन्तर योगदानका कारण उनी पार्टीभित्र रोल मोडेलका रूपमा लिइन्छन् ।

खस आर्य महिलातर्फ दाङकी क्रान्तिशिखा धिताल समावेश भएकी छन् । नीति निर्माण, बाचापत्र लेखन तथा वैचारिक दिशानिर्देश तय गर्ने काममा सक्रिय रहँदै आएकी धिताल पार्टी स्थापनाकालदेखि नै केन्द्रीय भूमिकामा रहेर काम गरिरहेकी नेतृ हुन् ।

दलित महिलातर्फ बर्दियाकी रीमा विश्वकर्मालाई सूचीमा राखिएको छ । लामो समयदेखि कलाकारितामा सक्रिय उनी कुशल कार्यक्रम सञ्चालकका रूपमा परिचित छिन् । उज्यालो नेपालको केन्द्रीय सदस्यसमेत रहेकी विश्वकर्मा पार्टी एकतापछि समानुपातिक सूचीमा समेटिएकी हुन् ।

यसैगरी खस आर्य महिलातर्फ ज्ञानु पौडेल (रुपन्देही) सूचीमा परेकी छन् । मुस्लिम पुरुषतर्फ कपिलवस्तुका आशिफ साह र मिर्जा रसिद वेग समावेश छन् भने मुस्लिम महिलातर्फ बाँकेकी समिना मियालाई उम्मेदवार बनाइएको छ ।

रास्वपाले समानुपातिक बन्दसूचीमार्फत सामाजिक समावेशिता, क्षेत्रीय प्रतिनिधित्व र पार्टीभित्र सक्रिय योगदानलाई प्राथमिकतामा राखिएको जनाएको छ । पार्टीले यो सूचीले नयाँ राजनीतिक संस्कार र जिम्मेवार प्रतिनिधित्वको सन्देश दिने विश्वास व्यक्त गरेको छ ।

समानुपातिककाे पूरा सूची हेर्नुहाेस्



प्रतिक्रिया दिनुहोस !