कांग्रेसको समानुपातिक सूचीमा लुम्बिनीबाट १७ जना समावेश : दुई जिल्ला प्रतिनिधिविहीन
बन्दसूचीमा रुपन्देहीको दबदबा : प्यूठान र रुकुमपूर्वको शून्य उपस्थिति
दाङ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको बन्दसूचीमा लुम्बिनी प्रदेशबाट १७ जना उम्मेदवार समावेश गरेको छ ।
प्रदेशका १२ जिल्लामध्ये १० जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित भए पनि प्यूठान र रुकुमपूर्व भने प्रतिनिधिविहीन देखिएका छन् ।बन्दसूचीअनुसार रुपन्देहीबाट सबैभन्दा बढी ३ जना उम्मेदवार परेका छन् ।
नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियाबाट समान २/२ जना उम्मेदवार समेटिँदा पाल्पा, रोल्पा, गुल्मी र अर्घाखाँचीबाट १/१ जनाको सहभागिता छ । यसले प्रदेशभित्र क्षेत्रीय सन्तुलन कायम गर्ने प्रयास देखिए पनि दुई जिल्लाको अनुपस्थितिले चर्चा जन्माएको छ ।
सूचीमा नवलपरासीबाट संगीता घिमिरे र सुनिताकुमारी सुवेदी श्रेष्ठ, गुल्मीबाट झकबहादुर पुन, रोल्पाबाट पुष्पा श्रेष्ठ समावेश छन् । रुपन्देहीबाट गंगा शाही, रीता सिंह वली र सन्तप्रसाद चौधरी परेका छन् ।
त्यस्तै पाल्पाबाट कृष्णप्रसाद अधिकारी, कपिलवस्तुबाट बिमला गैरे र अकिल मिया, दाङबाट मधुप्रसाद न्यौपाने र देवका नेपाली समेटिएका छन् ।
बर्दियाबाट प्रतिमा चौधरी र मिश्रीलाल यादव, अर्घाखाँचीबाट ललिता सुनार, तथा बाँकेबाट दुखीराम लोनिया र दिपनारायण बर्मा बन्दसूचीमा छन् ।
प्रदेशका अधिकांश जिल्लालाई समेट्ने प्रयास देखिए पनि प्यूठान र रुकुमपूर्वको शून्य प्रतिनिधित्वलाई लिएर पार्टीभित्रै पुनर्विचारको आवाज उठ्न थालेको छ ।












