एमालेको एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित घिमिरेले छाडे पार्टी
दाङ (देउखुरी) । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका रुपन्देही–५ का निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।
पुराना दलको नेतृत्वबाट जनअपेक्षा सम्बोधन हुन नसकेको निष्कर्षसहित उनले आफू संलग्न रहेको पार्टीको सबै जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।
घोषणापत्रमा उनले अहिले आम जनताको प्रमुख चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व, पुस्ता र राजनीतिक रूपान्तरण भएको उल्लेख गरेका छन् ।
देशको आवश्यकता, इतिहासको गति र नागरिकको अपेक्षालाई सम्बोधन गर्नु नै अहिलेको मुख्य कार्यभार भएको भन्दै सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको उनको भनाइ छ। तर, पुराना दलहरूको मुख्य नेतृत्वबाट जनअपेक्षा सम्बोधन हुने अवस्था नदेखिएकाले पार्टी जिम्मेवारीबाट अलग भएको स्पष्ट गरेका छन् ।
घिमिरेले अहिलेसम्म आफूलाई अवसर र जिम्मेवारी दिने सबैप्रति आभार व्यक्त गर्दै सुशासन, विकास र रोजगारीसहित मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन् ।
राजनीतिक स्रोतका अनुसार घिमिरे आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवारी दिने तयारीमा छन् ।
उक्त क्षेत्र हाल एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाका प्रमुखसमेत रहेका थिए । एमाले परित्याग र सम्भावित उम्मेदवारी घोषणासँगै रुपन्देहीको राजनीतिक समीकरण थप रोचक बनेको छ।








