एमालेको समानुपातिक बन्दसूची : लुम्बिनीबाट १८ जना समेटिए
दाङ र पाल्पाबाट ४/४ जना समेटिदा रुपन्देही र प्यूठानको अवस्था शून्य
दाङ । नेकपा (एमाले)ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्दसूचीमा लुम्बिनी प्रदेशबाट १८ जना उम्मेदवार समेटिएका छन् ।
बन्दसूची अनुसार दाङ र पाल्पाबाट सबैभन्दा बढी समान ४/४ जना परेका छन् भने प्यूठान र रुपन्देही जिल्लाको सहभागिता शून्य देखिएको छ ।
सूचीअनुसार दाङबाट कोमल वली, एञ्जिला थापा, शान्ता चौधरी र साजिदा खातुन सिद्धिकी समेटिएका छन् । पाल्पाबाट ठानेश्वरप्रसाद बस्याल, हिरुसरा राना, ओमबहादुर घर्ती मगर र रोजी खातुन बन्दसूचीमा परेका छन् ।
यस्तै बाँकेबाट विजया धिताल र मोहम्मद हारुन हलवाई, रुकुम पूर्वबाट बागलाल बुढा मगर, रोल्पाबाट नवीन रोक्का मगर, नवलपरासी पश्चिमबाट रिगला यादव, अर्घाखाँचीबाट बोमबहादुर विश्वकर्मा, गुल्मीबाट जगबहादुर नेपाली, बर्दियाबाट शिवप्रसाद चौधरी, कपिलवस्तुबाट जजीरप्रसाद चौधरी र सुशीलकुमार श्रीवास्तव समेटिएका छन् ।
पार्टीले विभिन्न जातीय, क्षेत्रीय तथा सामाजिक समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गरिएको जनाएको छ तर प्रदेशका १२ जिल्लामध्ये प्यूठान र रुपन्देहीबाट एक जना पनि नपरेको विषयलाई लिएर स्थानीय तहमा चासो र बहस सुरु भएको छ ।
एमालेले समानुपातिक बन्दसूचीमार्फत समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको दाबी गरे पनि केही जिल्लाको शून्य सहभागिताले आगामी दिनमा पार्टीभित्र छलफल र समीक्षा हुने संकेत देखिएको छ ।








