बीमा कम्पनीले जेन–जी आन्दोलनका क्षतिबाफत ५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी गरे
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाफत निर्जीवन बीमा कम्पनीहरूले हालसम्म बीमितहरूलाई करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनसँग सम्बन्धित क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार ३१६ वटा बीमा दाबी दर्ता भएका छन् । ती दाबीको कूल दाबी रकम करिब २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सोमध्ये अग्रिम भुक्तानीसमेत गरी हालसम्म उल्लेखित रकम भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, सम्पत्ति बीमातर्फ ७१२ वटा दाबी परेका छन् । यसतर्फ करिब १९ अर्ब ५ करोड रुपैयाँ दाबी रकममध्ये ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
त्यस्तै, मोटर बीमातर्फ २ हजार ३२१ वटा दाबी परेका छन् । यसमा करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ दाबी रकममध्ये १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२६ वटा दाबी परेका छन् । यसतर्फ करिब ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये ८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भएको छ ।
परिवहन बीमातर्फ १२ वटा दाबी मध्ये करिब १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ । अन्य बीमातर्फ ४५ वटा दाबी मध्ये करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये ५ करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेका छन् । ती दाबीको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।








