पश्चिमी वायुको प्रभाव : पहाड–हिमालमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । यस प्रणालीको असरका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । यस्तै, तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ भने तराईका धेरै स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपात तथा बिहानको समयमा तराईमा देखिन सक्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।








