१९ पुस २०८२, शनिबार

शीतलहरले बाँकेको जनजीवन प्रभावित : राहत र सतर्कतामा प्रशासन

प्रकाशित मिति :  3 January, 2026 8:45 am


बाँके । पुसको सुरुवातसँगै बाँकेमा बढ्दै गएको अत्यधिक चिसो र शीतलहरले जनजीवन प्रभावित बनेको छ। लगातार घाम नलाग्दा चिसो अझै तीव्र बन्दै गएको छ, जसका कारण दैनिक मजदुरी गर्ने श्रमिक, विपन्न समुदाय र खुला स्थानमा समय बिताउन बाध्य सर्वसाधारण बढी मारमा परेका छन् ।

चिसोको असर गहिरिँदै गएपछि राहत र प्रतिकार्यलाई प्राथमिकतामा राख्दै स्थानीय तह तथा सुरक्षा निकाय सक्रिय बनेका छन् । विशेषगरी सार्वजनिक स्थानमा बिहान–बेलुका आगो ताप्न बाध्य हुने नागरिकको सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेनाअन्तर्गत बज्रदल गण, राँझाले जिल्लाका विभिन्न क्षेत्रमा दाउरा उपलब्ध गराएको छ । गणका अनुसार यो पहल आपतकालीन अवस्थामा नागरिकको जीवन र स्वास्थ्य जोगाउने उद्देश्यले गरिएको हो ।

स्थानीय तहले पनि आफ्ना स्रोत र साधन प्रयोग गरी चिसोबाट जोगिने उपायहरू अघि बढाएका छन् । विभिन्न पालिकाले सार्वजनिक स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गर्नुका साथै गरिब तथा विपन्न परिवारलाई लक्षित गरी कम्बल वितरणलाई तीव्रता दिएका छन् । हालसम्म एक हजारभन्दा बढी कम्बल वितरण भइसकेको जनाइएको छ भने थप वितरणका लागि मौज्दात व्यवस्थापन गरिएको छ ।

चिसोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपत् व्यवस्थापन समिति बाँके ले शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्दै कार्यान्वयनमा ल्याएको जनाएको छ ।

समितिको आकलनअनुसार यस वर्ष बाँकेमा करिब ३६ हजार घरपरिवारका एक लाख ७६ हजार नागरिक चिसो र शीतलहरको जोखिममा पर्न सक्ने सम्भावना छ ।

यसैबीच, स्थानीय प्रशासनले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, न्यानो कपडा प्रयोग गर्न, आगो ताप्दा सावधानी अपनाउन तथा तातो झोलिलो खानेकुरा सेवन गर्न सुझाव दिइएको छ । शीतलहर अझै केही दिन कायम रहने पूर्वानुमान रहेकाले राहतसँगै सतर्कता नै मुख्य उपाय भएको सरोकारवालाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !