२१ पुस २०८२, सोमबार

चुलिदै निर्वाचन तयारी : यी हुन् लुम्बिनीकाे निर्वाचन हाँक्ने कमाण्डरहरु

प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रका लागि १२ मुख्य निर्वाचन अधिकृत र १४ जना निर्वाचन अधिकृत ताेकिएका छन्
प्रकाशित मिति :  4 January, 2026 9:58 pm


दाङ (देउखुरी)। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको जिम्मेवारी तोकेसँगै मुलुक औपचारिक रूपमा निर्वाचनमय बनेको छ ।

आयोगले सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका २६ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गराउने गरी १२ जना मुख्य निर्वाचन अधिकृत र १४ जना निर्वाचन अधिकृत खटाएको छ ।

प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रुपन्देहीमा रहेका छन् । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र कायम छन् भने दाङ, बाँके र कपिलवस्तुमा समान ३–३ वटा निर्वाचन क्षेत्र छन् ।

पाल्पा, गुल्मी, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र बर्दियामा २–२ वटा निर्वाचन क्षेत्र रहेका छन् भने अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुम (पूर्वी भाग) मा समान १–१ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का दुई निर्वाचन क्षेत्रमा डा. राजेन्द्रकुमार आचार्यलाई मुख्य निर्वाचन अधिकृत र इन्दुदेवी न्यौपानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

आचार्य हाल नवलपरासी जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन् भने न्यौपाने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अशोककुमार बस्नेत मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् । त्यहाँ निर्वाचन अधिकृतका रूपमा कपिल पौडेल, राजेन्द्र न्यौपाने, टोपबहादुर बिष्ट र गोपीकृष्ण रेग्मी खटिएका छन् ।

पौडेल सर्वोच्च अदालतका उपरजिष्टार हुन् भने न्यौपाने अर्थ मन्त्रालयका उपसचिव हुन् । त्यस्तै बस्नेत रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन् भने बिष्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव र रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव हुन् ।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा जिल्ला न्यायाधीश रमेश शर्मा पौडेल मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन अधिकृतमा गणेशकुमार गौतम र कुवेर पाण्डे नियुक्त भएका छन् । गौतम उच्च अदालत, तुलसीपुरका उपरजिष्टार हुन् भने पाण्डे सर्वोच्च अदालतका इजलास अधिकृत हुन् ।

पाल्पाका दुई निर्वाचन क्षेत्रमा हरिप्रसाद शर्मा उपाध्याय पंगेनी मुख्य निर्वाचन अधिकृत र दशरथ पंगेनी निर्वाचन अधिकृत रहेका छन् । अर्घाखाँचीको एक निर्वाचन क्षेत्रमा शिवलाल पाण्डे मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

गुल्मीका दुई निर्वाचन क्षेत्रमा कृष्णप्रसाद पौडेल मुख्य निर्वाचन अधिकृत र हरिहर पौडेल निर्वाचन अधिकृत नियुक्त भएका छन् । पौडेल गुल्मी जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन् भने हरिहर पौडेल जिल्ला सरकारी वकिल कार्यालय, गुल्मीका जिल्ला न्यायाधिवक्ता हुन् ।

एक निर्वाचन क्षेत्र रहेका रुकुम (पूर्वी भाग) मा रुकुमकोट जिल्ला अदालतका जिल्ला न्यायाधीश शिवप्रसाद खनाल, रोल्पामा रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीश विनोद खतिवडा र प्यूठानमा प्युठान जिल्ला अदालतका जिल्ला न्यायाधीशहिरन्यप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएकाे छ ।

दाङका तीन निर्वाचन क्षेत्रमा दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् । निर्वाचन अधिकृतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशका उपसचिव कृष्णप्रसाद नेपाल र उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका उपन्यायाधीवक्ता चन्द्रबहादुर सिजाली रहेका छन् ।

बाँकेका तीन निर्वाचन क्षेत्रमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपककुमार दाहाल मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले र जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता दशरथ गौतम रहेका छन् ।

बर्दियाका दुई निर्वाचन क्षेत्रमा बर्दिया जिल्ला अदालतका जिल्ला न्यायाधीश मनोज श्रेष्ठ मुख्य निर्वाचन अधिकृत र फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक गोविन्दप्रसाद घिमिरे निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले उम्मेदवारी दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन, मतदान, मतगणना तथा नतिजा प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया कानुनअनुसार निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गराउने जिम्मेवारी पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !