२१ पुस २०८२, सोमबार

नागरिकका सवाल, पालिकाको जवाफ : राप्ती गाउँपालिकामा सार्वजनिक सुनुवाइ

प्रकाशित मिति :  4 January, 2026 10:06 pm


देउखुरी । सेवा प्रवाह कत्तिको प्रभावकारी छ ? योजना छनोट र कार्यान्वयन नागरिकको अपेक्षाअनुसार छ कि छैन ? यिनै प्रश्नको जवाफ खोज्दै दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत र सुशासनजस्ता आधारभूत सेवाबारे स्थानीयले प्रत्यक्ष जिज्ञासा राखे ।

सेवाग्राहीका प्रश्नको सामना गर्दै जनप्रतिनिधि र कर्मचारीले आफ्ना काम, सीमा र आगामी प्राथमिकताबारे स्पष्ट पारे । यसले सेवाप्रदायक र नागरिकबीचको दूरी घटाउन सहयोग पुगेको सहभागीको भनाइ थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पारदर्शिता र उत्तरदायित्व बिना स्थानीय सरकारप्रति नागरिकको भरोसा बलियो नहुने उल्लेख गर्दै आलोचना र सुझावलाई सुधारको आधारका रूपमा लिइने प्रतिबद्धता जनाए ।

सीमित स्रोत–साधनका कारण केही योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै उनले प्रदेश र संघीय सरकारसँग समन्वय गरी नागरिक आवश्यकतालाई केन्द्रमा राखेर काम भइरहेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पहिलो चौमासिक अवधिसम्म भएका काम, बजेट खर्च र प्रगतिबारे संक्षिप्त विवरण प्रस्तुत गरे ।

त्यस्तै, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सेवाप्रवाहसम्बन्धी नागरिक धारणा समेटिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै सुधारका क्षेत्र औंल्याए ।

सहभागीहरूले विद्यालयको गुणस्तर, स्वास्थ्य सेवाको पहुँच, कृषि अनुदानको प्रभावकारिता र सडक–सिँचाइ योजनाको दिगोपनबारे सुझाव राखेका थिए । उठेका प्रश्नमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिएका थिए।

स्थानीय तहमा सुशासन सुदृढ गर्ने प्रभावकारी माध्यमका रूपमा लिइँदै आएको सार्वजनिक सुनुवाइ राप्ती गाउँपालिकाले नियमित चौमासिक रूपमा गर्दै आएको छ । नागरिकका आवाज सुन्ने र जवाफदेही बन्ने अभ्यास निरन्तर राख्दा मात्रै स्थानीय शासन बलियो हुने निष्कर्ष कार्यक्रमबाट निस्किएको छ।



प्रतिक्रिया दिनुहोस !