२२ पुस २०८२, मंगलबार

एमाले लुम्बिनीको उम्मेदवार चित्र : कतै एकल, कतै बहुविकल्प सिफारिस

प्रकाशित मिति :  5 January, 2026 12:17 pm


dfcf]jfbL s]Gb|sf] dxflwjz]gdf ;Daf]wg ub}{ Pdfn] dxf;lrj z+s/ kf]v/]n

दाङ (देउखुरी) । नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका २६ निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएको छ ।

प्रदेश सचिव लक्ष्मण आचार्यका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा सिफारिस प्रक्रिया पूरा भइसकेको छ भने बाँकी केही क्षेत्रीय कमिटीहरूले पनि आजै उम्मेदवारको नाम टुंग्याउने तयारी गरेका छन् । यससँगै लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यसपटक एमालेले लुम्बिनीका हाइप्रोफाइल नेताहरूलाई एकल सिफारिस गर्दै स्पष्ट सन्देश दिएको छ । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल दुई जिल्लाका तीन निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका छन् ।

पाैडेल रुपन्देही–२ बाट एकल सिफारिसमा परेका छन् भने रुपन्देही–३ र पाल्पा–२ बाट प्राथमिकतासहित बहुविकल्पमा सिफारिस भएका छन् ।

महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् भने निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट एकल उम्मेदवारका रूपमा अघि सारिएका छन् ।

पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा एमालेले बहुविकल्पमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट किरण पौडेल र रामप्रसाद पाण्डे तथा क्षेत्र नम्बर २ बाट बैजनाथ चौधरी, श्याम बस्याल, भगौती यादव र सरिता पौडेलको नाम सिफारिस गरिएको छ ।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा. कृष्ण न्यौपाने, क्षेत्र नम्बर २ मा विष्णुप्रसाद पौडेल एकल, क्षेत्र नम्बर ३ मा विष्णुप्रसाद पौडेल र वासुदेव घिमिरेसहित ११ जनाको नाम प्रस्ताव गरिएको छ । क्षेत्र नम्बर ४ मा सिफारिस हुन बाँकी छ भने क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराई एकल सिफारिस भएका छन् ।

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा बहुविकल्पमा उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट नारायणप्रसाद आचार्य, राधाकृष्ण कँडेल, निलबहादुर सारु, दुर्गादेवी राना, विमलप्रसाद काफ्ले र शिव अर्याल तथा क्षेत्र नम्बर २ बाट विष्णुप्रसाद पौडेल पहिलो प्राथमिकतामा रहँदा ठाकुरप्रसाद गैरे, नारायणी देवी शर्मा घिमिरे र डा. रामबहादुर राउतको नाम पनि सिफारिस सूचीमा परेको छ।

दाङमा क्षेत्र नम्बर १ बाट रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ, डा. सुरामणि बेल्वासे, रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर २ बाट शंकर पोखरेल एकल उम्मेदवार बनेका छन्। दाङ क्षेत्र नम्बर ३ मा भने अझै सिफारिस हुन बाँकी छ।

गुल्मीमा क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवाली एकल सिफारिस भएका छन् भने क्षेत्र नम्बर २ मा उपाध्यक्ष गोकर्ण विष्ट र नेतृ रामकुमारी झाँक्रीबीच आकांक्षा देखिँदा अन्तिम निर्णय हुन बाँकी छ ।

कपिलवस्तुमा क्षेत्र नम्बर १ बाट विश्रामप्रसाद चौधरी र क्षेत्र नम्बर २ बाट दृघनारायण पाण्डेय एकल सिफारिसमा परेका छन् भने क्षेत्र नम्बर ३ बाट नेत्रराज अधिकारी, अकवाल अहमद साह, सिराज अहमद फारुकी र मीना परियारको नाम सिफारिस गरिएको छ।

बाँकेमा क्षेत्र नम्बर १ बाट सूर्य ढकाल र क्षेत्र नम्बर ३ बाट दलबहादुर सुनार एकल सिफारिस भएका छन् भने क्षेत्र नम्बर २ बाट निरक गुरु, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोखरेलको नाम सिफारिस गरिएको छ ।

प्यूठानबाट सूर्य थापा र अर्घाखाँचीबाट पिताम्बर भुसालको नाम सिफारिस गर्नेगरी बैठक चलिरहेकाे छ। रुकुम पूर्वमा खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनार तथा रोल्पामा गोकुलप्रसाद घर्ती, नेपबहादुर वली, ओमराज घर्ती, घनश्याम आचार्य, मिना बुढा, अर्जुनकुमार वली र अस्मिता घर्तीको नाम सिफारिस सूचीमा परेको छ।

बर्दियाका दुवै निर्वाचन क्षेत्रमा पनि बहुविकल्पमा उम्मेदवार सिफारिस गरिएको छ। क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलिया तथा क्षेत्र नम्बर २ बाट बिमला बिक, कुलप्रसाद पोखरेल, शर्मा थारु, पंकजसिंह राठोर र शिवमणि शर्माको नाम केन्द्रमा पठाइएको छ।

एमालेको यो सिफारिस प्रक्रियाले लुम्बिनी प्रदेशमा पार्टी संगठन सुदृढ रहेको र आगामी प्रतिनिधिसभा निर्वाचनमा अनुभवी तथा प्रभावशाली नेताहरूलाई केन्द्रमा राखेर जाने रणनीति स्पष्ट देखिएको छ। अब यी सिफारिसमाथि केन्द्रीय नेतृत्वले अन्तिम निर्णय गर्नेछ।



प्रतिक्रिया दिनुहोस !