२३ पुस २०८२, बुधबार

दाङका निजी विद्यालयमा ८ अर्ब ५८ करोड लगानी, ६ हजारभन्दा बढीलाई रोजगारी

१४ हजार २ सय ७८ जना विद्यार्थीलाई वार्षिक ३३ करोड ९६ लाख ५६ हजार ४८ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान
प्रकाशित मिति :  5 January, 2026 7:14 pm


दाङ । दाङ जिल्लाको शिक्षा क्षेत्र निजी विद्यालयहरूको ठूलाे आर्थिक लगानी र सामाजिक योगदानको महत्वपूर्ण केन्द्र बन्दै गएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाका निजी विद्यालयहरूमा हालसम्म ८ अर्ब ५८ करोड ८२ लाख ९४ हजार ६ सय १७ रुपैयाँ बराबरको लगानी भइसकेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले निजी विद्यालयहरू केवल शिक्षण संस्था मात्र नभई स्थानीय अर्थतन्त्रका महत्वपूर्ण आधारस्तम्भका रूपमा उभिएको दाबी गरेको हो ।

शिक्षा क्षेत्रमा लगानीसँगै सामाजिक उत्तरदायित्व

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेका अनुसार जिल्लामा सञ्चालित १७६ निजी विद्यालयले ९९ हजार ९ सय ५७ जना विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएका छन् । तीमध्ये १४ हजार २ सय ७८ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । छात्रवृत्तिमार्फत वार्षिक ३३ करोड ९६ लाख ५६ हजार ४८ रुपैयाँ बराबरको सहयोग भइरहेको तथ्याङ्कले निजी विद्यालयहरूको सामाजिक उत्तरदायित्व झल्काउँछ ।

“निजी विद्यालयलाई केवल नाफामुखी संस्थाका रूपमा हेर्ने दृष्टिकोण सही छैन,” अध्यक्ष न्यौपानेले भने, “हामी शिक्षा पहुँच विस्तार र सामाजिक समावेशितामा निरन्तर लगानी गरिरहेका छौँ ।”

छ हजार बढीलाई रोजगारी, अर्बौँको वार्षिक खर्च

प्याब्सन दाङका सचिव टेकबहादुर केसीका अनुसार निजी विद्यालयहरूले ४ हजार ६ सय ८८ जना शिक्षक र १ हजार ५ सय ९७ जना कर्मचारी गरी कुल ६ हजार २ सय ८५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

शिक्षक तथा कर्मचारीको तलब–भत्तामै वार्षिक २ अर्ब १८ करोड २८ लाख ६९ हजार ५ सय ६४ रुपैयाँ खर्च भइरहेको छ । यसले शिक्षा क्षेत्रमार्फत स्थानीय बजार, घरायसी आय र सेवा क्षेत्रमा समेत सकारात्मक आर्थिक प्रभाव पारिरहेको देखिन्छ ।

हाल प्याब्सन दाङअन्तर्गत १११ वटा माध्यमिक र ६५ वटा आधारभूत गरी कुल १७६ विद्यालय सञ्चालनमा छन् । सरकारी विद्यालयको पहुँच सीमित रहेका भूभागहरूमा समेत निजी विद्यालयमार्फत शिक्षा पुगेको भन्दै प्याब्सनले शिक्षा अधिकारको व्यवहारिक कार्यान्वयनमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको जनाएको छ ।

गुणस्तर सुधारमा तालिम र प्रविधि

प्याब्सन दाङले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, गोष्ठी, सेमिनार, कार्यशाला र क्षमता विकास कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।

आधुनिक शिक्षण विधि, डिजिटल प्रविधि, बालमैत्री शिक्षा, निरन्तर मूल्याङ्कन प्रणाली तथा सीपमुखी शिक्षालाई प्राथमिकतामा राखिएको छ ।

साथै, सरकार, शिक्षा मन्त्रालय, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गर्दै निजी विद्यालयका समस्या र सुझाव नीतिगत तहसम्म पुर्‍याउने प्रयास जारी रहेको प्याब्सनको भनाइ छ ।

३५ औँ स्थापना दिवस : शिक्षा र समाज जोड्ने प्रयास

प्याब्सन दाङ स्थापना भएको ३५ वर्ष पूरा हुन लागेको अवसरमा पुस २२ देखि २४ गतेसम्म विविध कार्यक्रम आयोजना गरिँदैछ । पुस २२ घोराही, तुलसीपुर, लमही, राप्ती र गढवा नगर क्षेत्रमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाउँदै पुस २३ गते प्याब्सन दाङ र नेपाल पत्रकार महासंघ दाङ शाखाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गर्ने जनाइएकाे छ ।त्यस्तै पुस २४ गते दाङको शैक्षिक अवस्थामाथि बहस, पुरस्कार तथा सम्मान कार्यक्रमकाे आयाेजना गर्ने सचिव केसीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएकाे पत्रकार सम्मेलनमा बाेल्दै प्याव्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण अधिकारले निजी विद्यालयलाई राज्यले गरेकाे याेगदानलाई पारदर्शी बनाउनुपर्ने बताए ।

निजी विद्यालय सामुदायिक विद्यालयका प्रतिष्पर्धी नभई सहयाेगी भएकाे भन्दै उनले शैक्षिक विकासमा दुवै विद्यालयका बीचमा सहकार्य हुनुपर्ने बताए ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव टेकबहादुर केसी आदिमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !