२३ पुस २०८२, बुधबार

ने.क.पा. माओवादीले गर्याे दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

प्रकाशित मिति :  5 January, 2026 9:14 pm


दाङ (देउखुरी ) । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको ने.क.पा. माओवादीले दाङ जिल्लाका तीनै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रबाट अनुभवी तथा चिनिएका नेताहरूलाई एकल सिफारिस गर्दै निर्वाचनमा संगठित र स्पष्ट उपस्थितिको सन्देश दिएको छ।

दाङ निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। अखिल (क्रान्तिकारी) को केन्द्रीय महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हाल्दै नेपाली विद्यार्थी आन्दोलनको विकासमा सक्रिय भूमिका खेलेका शाही देउखुरी क्षेत्रका ऊर्जाशील युवा नेताका रूपमा परिचित छन् ।

राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही हाल धानखोला–लमही चारलेन सडक संघर्ष समितिको संयोजकका रूपमा जनमुखी अभियान सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं. २ बाट लामो समयदेखि पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय बालकृष्ण पोखरेल (सविन)लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सविन यस क्षेत्रका अनुभवी र परिचित नेतामध्ये पर्छन् ।

उता दाङ निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शीतल) लाई पनि एकल उम्मेदवारका रूपमा अघि सारिएको छ ।

माओवादी जनयुद्धकालदेखि नै भूमिगत तथा सक्रिय राजनीतिमा संलग्न शीतललाई पार्टीले अनुभवी नेतृत्वका रूपमा विश्वास गर्दै सिफारिस गरेको हो ।

पहिलो सहभागितामै तीनै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्ने माओवादी केन्द्रको निर्णयलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।

स्पष्ट उम्मेदवारी, अनुभव र संगठनात्मक बलका आधारमा माओवादी केन्द्रले दाङमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने संकेत दिएको विश्लेषण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !