प्रतिनिधि सभा निर्वाचन : प्यूठानबाट सूर्य थापा एकल सिफारिस
दाङ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल (एमाले) प्यूठान जिल्ला कमिटीले केन्द्रीय सदस्य सूर्य थापाको नाम एकल रूपमा सिफारिस गरेको छ।
सोमबार बसेको जिल्ला कमिटीको बैठकले विघटित प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका थापालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा अघि सारेको हो ।
पार्टी संगठन मजबुत बनाउँदै जिल्लामा एमालेको जनाधार विस्तारमा सक्रिय भूमिका खेलेका थापालाई अनुभवी र प्रभावशाली नेताका रूपमा लिइन्छ ।
जिल्ला कमिटीका अनुसार आगामी निर्वाचनमा प्यूठानमा एमालेको जित सुनिश्चित गर्न सक्षम नेतृत्व आवश्यक भएकाले निवर्तमान पाेलिटब्यूराे सदस्य थापाको नाम एकल सिफारिस गरिएको हो । पार्टीले केन्द्रमा औपचारिक निर्णयका लागि सिफारिस पठाइसकेको जनाएको छ ।
थापा प्यूठान जिल्लाको विकासमा रोलमोडल नेतृत्वका रूपमा स्थापित मानिन्छन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा उनले सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीतिगत पहल र बजेट सुनिश्चिततामा सक्रिय भूमिका खेलेका थिए ।
स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरेर योजनाहरू अघि बढाउने, विकासका काममा पारदर्शिता र जवाफदेहिता कायम गर्नमा उनको कार्यशैलीलाई जिल्लाबासीले सकारात्मक रूपमा स्मरण गर्छन् ।
यही विकासमुखी दृष्टिकोण र कार्यसम्पादनका कारण थापालाई प्यूठानको समग्र विकासको भरोसायोग्य अनुहारका रूपमा हेरिएको छ ।








