२४ पुस २०८२, बिहिबार

प्रतिनिधि सभा निर्वाचन : रुकुम पूर्वकाे उडान भर्लान् त प्रचण्ड ?

प्रकाशित मिति :  6 January, 2026 8:50 am


दाङ (देउखुरी) । सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दिन आग्रह गर्न पार्टीको एक टोली काठमाडौँ पुगेको छ।

रुकुम पूर्वबाट प्रचण्ड उम्मेदवार बने जिल्लाको विकासले गति लिने अपेक्षा गरिएको भन्दै पार्टीका नेताहरूले उनलाई निर्वाचन लड्न औपचारिक आमन्त्रण गरेको नेकपाका केन्द्रीय सदस्य तेजबहादुर वलीले जानकारी दिए ।

टोलीले पार्टी संयोजक प्रचण्डसँग भेट गरी रुकुम पूर्वलाई निर्वाचन क्षेत्र बनाइदिन आग्रह गरेको र अहिले उनको जवाफको प्रतीक्षामा रहेको वलीले बताए ।

वलीका अनुसार रुकुम पूर्वबाट उम्मेदवार बन्न इच्छुक नौजना आकांक्षी रहे पनि प्रचण्डको निर्णय नआएसम्म आकांक्षीबीच सहमतिको प्रक्रिया अघि नबढाइएको हो ।

साविक नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्जसमेत रहेका वलीले उम्मेदवार टुंग्याउने सम्पूर्ण जिम्मेवारी केन्द्रीय कार्यालयलाई सुम्पिएको जानकारी दिए ।

रुकुम पूर्वको उडान भर्लान् त प्रचण्ड ?

गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट विजयी भएका प्रचण्ड यसपटक रुकुम पूर्वलाई आफ्नो निर्वाचन क्षेत्र बनाउलान् वा नबनाउलान् ? भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ। यसअघि कालिकोटबाट निर्वाचन लड्ने चर्चा पनि चलेको थियो ।

प्रचण्डको निर्वाचन यात्रा हेर्दा उनी पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले काठमाडौँ–१० र रोल्पा–२ बाट उम्मेदवारी दिएर दुवै क्षेत्रमा विजय हासिल गरेका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र सिराहा–५ बाट उम्मेदवारी दिएका प्रचण्ड काठमाडौँमा पराजित भए पनि सिराहाबाट कठिन जित निकालेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी गृहजिल्ला चितवन–३ बाट विजयी भएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गर्दै भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई प्रमुख बनाइएपछि धेरैले २०७९ को निर्वाचनमा पनि प्रचण्ड चितवनबाटै उठ्ने अनुमान गरेका थिए तर ती अनुमानलाई गलत सावित गर्दै उनी गोरखा–२ बाट चुनावी मैदानमा उत्रिएका थिए ।

यसपटक प्रचण्ड कुन निर्वाचन क्षेत्र रोज्छन् ? भन्ने प्रश्नले फेरि एकपटक राष्ट्रिय राजनीतिमा उत्सुकता बढाएको छ । रुकुम पूर्वबाट आएको आमन्त्रण स्वीकार हुन्छ वा हुँदैन ? त्यसको निर्णयले आगामी निर्वाचनको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !