एमाले सचिवालयको ठोस निर्णय : चुनावी परिचालन कमिटी गठन, प्रदेशस्तरमा जिम्मेवारी बाँडफाँट
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरूले निर्वाचन सार्ने वा चरणबद्ध रूपमा गराउने षड्यन्त्र गरिरहेको ब्रिफिङ गरेका छन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको बताए ।
उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको आरोप लगाउँदै यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरे ।
अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य झन् चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे ।
उनले पार्टीले आन्दोलनलाई अझ जुझारु र सशक्त ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए। प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल–टोलमा ‘नेसनल युथ भोलेन्टियर फोर्स’ गठन गर्नुपर्ने र निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, सचिवालय बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन भएको उक्त कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेका छन्।
बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति पनि गठन गरेको छ। साथै, प्रदेश तथा निर्वाचन संयोजनका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ।
प्रदेश तथा विभागीय जिम्मेवारी
कोशी प्रदेश – शेरधन राई
मधेश प्रदेश – लीलानाथ श्रेष्ठ
बागमती प्रदेश – महेश बस्नेत
राजधानी – डा. राजन भट्टराई
गण्डकी प्रदेश – खगराज अधिकारी
कर्णाली प्रदेश – यामलाल कँडेल
सुदूरपश्चिम प्रदेश – गणेश ठगुन्ना
संगठन विभाग – भानुभक्त ढकाल
उपमहासचिव भट्टका अनुसार बैठकले पार्टीलाई निर्वाचन र आन्दोलन दुवै मोर्चामा एकसाथ अघि बढाउने रणनीति तय गरेको छ ।






