२३ पुस २०८२, बुधबार

वर्षमान पुनको स्पष्ट सन्देश : ‘विप्लवसँग एकता अहिलेको एजेन्डा होइन’

प्रकाशित मिति :  6 January, 2026 7:40 pm


दाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग तत्काल पार्टी एकता हुने सम्भावना नदेखिएको स्पष्ट गरेका छन् ।

मङ्गलबार पार्टीको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँगको अनौपचारिक संवादमा पुनले एकतालाई लिएर कुनै ठोस पहल वा छलफल नभएको बताए ।

नेता पुनका अनुसार चन्द नेतृत्वको धार तत्कालीन एकताको प्रक्रियामा सहभागी हुनुपर्ने समयमा अलग्गिएको थियो। “विप्लवजीसँग अहिले केही कुरा भएको छैन। अस्ति आउनुपर्ने बेला छुट्नुभयो,” भन्दै उनले भविष्यमा सहकार्य वा एकताको इच्छा देखाए स्वागत गर्न पार्टी तयार रहेको धारणा व्यक्त गरे । तर हालको राजनीतिक परिस्थितिमा त्यस्तो सम्भावना नदेखिएको पुनको भनाइ छ।

संविधान र वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि लड्दै आएको पार्टी भएको दाबी गर्दै पुनले नेकपा कुनै पनि नयाँ वा पुराना शक्तिसँग नडराउने स्पष्ट सन्देश दिए ।

उनका अनुसार पार्टीको मूल प्राथमिकता अहिले संगठन मजबुत बनाउने र राजनीतिक स्थायित्वको पक्षमा उभिनु हो, नकि तत्काल नयाँ एकता खोज्नु ।

नेता पुनको अभिव्यक्तिले वाम राजनीतिमा पुनः एकताको बहस चिसिँदै गएको संकेत दिएको छ, जहाँ तत्कालका लागि सहकार्यभन्दा पनि आ–आफ्नो धार मजबुत बनाउने रणनीति हाबी देखिएको छ।



प्रतिक्रिया दिनुहोस !