२४ पुस २०८२, बिहिबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा आठ जनाको उम्मेदवारी दर्ता, काङ्ग्रेस-एमाले गठबन्धनकाे विजय सुनिश्चित

प्रकाशित मिति :  7 January, 2026 5:56 pm


दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नेमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट तीन जना, नेपाली कांग्रेसका तर्फबाट तीन जना र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुई जना उम्मेदवार रहेका छन् ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट महिला क्लस्टरमा एमालेकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गरेकी छन् । उनको मनोनयन प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी रहेका छन् भने समर्थकमा सोही पालिकाकी उपप्रमुख हुमाकुमारी डिसी रहेकी छन् ।

नेपाली कांग्रेसको तर्फबाट अपाङ्गता क्लस्टरमा बासुदेव जंगलीले मनोनयन दर्ता गराएका छन् । उनका प्रस्तावक बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थक बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी रहेका छन् ।

यस्तै, अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्र केसी उम्मेदवार बनेका छन् । उनको प्रस्तावक दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु र समर्थक शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट लुम्बिनी प्रदेशमा रिक्त अपाङ्गता, अन्य र महिला क्लस्टरमा उम्मेदवारी दर्ता गरिएको छ। अपाङ्गता क्लस्टरतर्फ बाँके बैजनाथ–५ निवासी सर्जन बिकले मनोनयन दर्ता गराएका छन् ।

उनका प्रस्तावक प्रदेशसभा सदस्य दिपेन्द्र घर्ती र समर्थक प्रदेशसभा सदस्य दिलकुमारी बुढा रहेकी छन्। अन्य क्लस्टरतर्फ रुपन्देहीकी बृहस्पति अधिकारीले उम्मेदवारी दर्ता गराएकी छिन् भने महिला क्लस्टरतर्फ पाल्पाकी दुर्गा भण्डारीले मनोनयन दर्ता गरेकी छन् ।

राष्ट्रिय जनमोर्चाले अन्य र महिला क्लस्टरमा उम्मेदवारी दर्ता गरेको जनाएको छ । अन्य क्लस्टरतर्फ प्यूठानका बोमबहादुर खत्री उम्मेदवार बनेका छन् भने महिला क्लस्टरतर्फ प्यूठानकी पद्मा पण्डितले उम्मेदवारी दर्ता गराएकी छन् । लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता क्लस्टर गरी तीन जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् ।

प्रदेशमा कुल मतभार ८ हजार ७५३ रहेको छ। यसमध्ये नेपाली कांग्रेसको ३ हजार १७९, एमालेको २ हजार ८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २ हजार ६८६ मतभार रहेको छ।



प्रतिक्रिया दिनुहोस !