२४ पुस २०८२, बिहिबार

घाेराही मेलामा स्थानीय व्यवसायीलाई प्राथमिकता : स्टल शुल्कमा ५० प्रतिशत छुट

प्रकाशित मिति :  7 January, 2026 9:52 pm


दाङ । स्थानीय व्यवसाय प्रवर्द्धन र आर्थिक चलायमानता बढाउने उद्देश्यसहित दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ आयोजना हुँदै छ ।

नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति संरक्षक र नेपाल मगर सङ्घ घोराही उपमहानगर समिति आयाेजक रहेकाे मेलामा घोराहीभित्रका व्यवसायीलाई स्टल शुल्कमा ५० प्रतिशत छुट दिइएको छ, जसले साना तथा मझौला उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

सङ्घका नगर अध्यक्ष बेदबहादुर बुढाले स्थानीय उत्पादन बिक्री, बजार विस्तार र उद्यमशीलता प्रोत्साहनलाई केन्द्रमा राखेर स्टल व्यवस्थापन गरिएको जानकारी दिए ।

घोराही–१४ ट्राफिक चोक नजिकैको गोर्खा टोलमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।

हालसम्म करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको छ। सञ्चार संयोजक कैलाश घर्ती मगरका अनुसार भोलिसम्म सम्पूर्ण तयारी पूरा भई पर्सि औपचारिक उद्घाटन हुनेछ।

व्यवसायिक दृष्टिले मेलामा स्थानीय खाद्य परिकार, हस्तकला, कृषि तथा पर्यटनसम्बन्धी सामग्रीको बिक्री–प्रदर्शनी रहनेछ। आयोजकका अनुसार मेलाले स्थानीय व्यवसायीको कारोबार वृद्धि र नगद प्रवाह बढाउन सहयोग गर्नेछ ।

साथै, मेलाकाे आकर्षण बढाउन हरेक दिन राष्ट्रिय एवम् स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । आइफेल टावर, जलपरी र लण्डन ब्रिज जस्ता संरचनाले पनि दर्शक संख्या बढाउने अपेक्षा गरिएको छ ।

प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैयाँ तोकिएको छ। क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित आयोजना गरिएको मेलामा अवलोकन तथा सहभागिताका लागि आयोजक नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति र घोराही उपमहानगर समिति ले सबैलाई निम्तो दिएका छन्।



प्रतिक्रिया दिनुहोस !