लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यद्वारा सपथ ग्रहण
दाङ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यले बिहीबार सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले प्रदेश प्रमुख कार्यालय बुटवलमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
सपथ समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर तथा मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थिति रहेको थियो ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ बमोजिम अध्यक्षले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार अध्यक्ष बस्यालले सपथ ग्रहण गर्नुभएको हो।
यसैगरी, प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ७ अनुसार आयोगका नवनियुक्त सदस्य ताराप्रसाद भुसालले अध्यक्ष बस्यालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुन् ।








