२५ पुस २०८२, शुक्रबार

एमाले महासचिव पोखरेलको कटाक्ष-‘आगोको भाषा कसले भित्र्यायो ?’

प्रकाशित मिति :  9 January, 2026 10:53 am


काठमाडौँ । सिंहदरबार आगजनी प्रकरणलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप चर्किएको छ । नेपका (एमाले) महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् उठाएको प्रश्नले यो बहसलाई फेरि नयाँ मोडमा पुर्‍याएको छ । उनले ‘सिंहदरबार जलाउन उक्साउने को हो ?’ भन्दै सार्वजनिक रूपमा प्रश्न गरेपछि सन्देशको केन्द्रमा बालेन साह परेका छन् ।

पोखरेलले फेसबुकमा लेखेको टिप्पणीमा २०७२ को भूकम्पपछि क्षतिग्रस्त सिंहदरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने निर्णयको स्मरण गराउँदै त्यस संस्थामाथि आगजनी हुन पुग्नुको पृष्ठभूमि खोतल्नुपर्ने संकेत गरेका छन् ।

उनको आशय स्पष्ट छ-राजनीतिक अभिव्यक्तिमा प्रयोग हुने भाषा र सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिको आक्रोशले कस्तो सामाजिक सन्देश दिन्छ ?

अभिव्यक्तिको जिम्मेवारीमाथि प्रश्न

केही महिनाअघि सार्वजनिक बिदाको दिन मेयर साहकी पत्नी चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर साहले सिंहदरबार जलाइदिने आशयको अभिव्यक्ति दिएको विषय पुनः स्मरण गराइएको छ । त्यसपछि ‘जेन–जी आन्दोलन’ का क्रममा सिंहदरबार क्षेत्रमा आगजनीको घटना हुनुले राजनीतिक भाष्य र व्यवहारबीचको सम्बन्धमाथि प्रश्न उठेको पोखरेल पक्षको तर्क छ ।

आलोचना कि चेतावनी ?

एमाले नेतृत्वको यो अभिव्यक्तिलाई कतिपयले मेयर साहमाथिको प्रत्यक्ष राजनीतिक आक्रमणका रूपमा लिएका छन् भने केहीले सार्वजनिक पदमा बसेकाहरूले प्रयोग गर्ने शब्द चयनप्रति चेतावनीका रूपमा व्याख्या गरेका छन् ।

सामाजिक सञ्जालमा यस विषयले बहस सिर्जना गरिरहेको छ-के आक्रोशपूर्ण भाषाले आन्दोलनलाई हिंसात्मक दिशातर्फ धकेल्छ? कि यस्ता आरोपले वास्तविक कारण ओझेलमा पार्छ ?

सिंहदरबारजस्तो राष्ट्रिय प्रतीकसँग जोडिएको घटनाले केवल आगजनीको दोष कसलाई भन्ने प्रश्न मात्र होइन, लोकतन्त्रमा अभिव्यक्ति, जिम्मेवारी र प्रभावको सीमा कहाँसम्म भन्ने गहिरो बहस जन्माएको छ। पोखरेलको प्रश्नले त्यसै बहसलाई सार्वजनिक रूपमा पुनः सतहमा ल्याएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !