२५ पुस २०८२, शुक्रबार

गठबन्धनप्रति असन्तुष्टि : एक्लै चुनाव लड्ने नेकपाको संकेत

प्रकाशित मिति :  9 January, 2026 12:46 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेसँग सहकार्य गर्ने विषयलाई लिएर पार्टीभित्र र आम जनतामाझ सकारात्मक प्रतिक्रिया नआएको नेकपाका नेता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

उनका अनुसार राजनीतिक सहकार्य स्वाभाविक प्रक्रिया भए पनि हालको गठबन्धनले पार्टीको पहिचान र विचारलाई कमजोर बनाउने जोखिम देखिएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता सापकोटाले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनभन्दा फरक प्रकृतिको भए पनि मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्ताव काँग्रेस–एमालेबाट अस्वीकार भएको उल्लेख गरे । यसले सहकार्य निष्पक्ष र समानतामा आधारित नभएको सन्देश दिएको उनको भनाइ छ।

उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने नेकपा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै जनतामाझ जाने स्पष्ट संकेत गरे । पार्टी एक्लै चुनाव लडोस् भन्ने सुझाव पार्टीपंक्ति र नागरिकस्तरबाट निरन्तर आएको उनको दाबी छ ।

नेता सापकोटाले विगतका गठबन्धनका कारण पार्टीको मौलिक पहिचान स्थापित हुन नसकेको स्वीकार्दै अब वैचारिक स्पष्टता र स्वतन्त्र राजनीतिक बाटो रोज्नुपर्ने धारणा अघि सारे ।

उनका अनुसार जनजी पुस्ताले उठाएका अग्रगामी मुद्दा नेकपाले निरन्तर उठाउँदै आएको छ, तर अन्य दलहरूमा विचार र दृष्टिकोणको अभाव देखिन्छ ।

यस सन्दर्भमा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि आलोचनात्मक टिप्पणी गरे । विचार र दीर्घकालीन दृष्टिकोणको खडेरीकै कारण मुलुक राजनीतिक संकटतर्फ धकेलिएको उनको जिकिर छ ।

नेपाली काँग्रेसभित्र महाधिवेशनका विषयमा देखिएको आन्तरिक विवादलाई लिएर सापकोटाले त्यसले राष्ट्रिय राजनीतिमा ठूलो असर नपार्ने बताए पनि पार्टी विभाजनभन्दा एकता नै सबैका लागि हितकर हुने सुझाव दिए । उनका अनुसार आन्तरिक समस्याको समाधान सम्बन्धित दलले नै खोज्ने विश्वास गर्न सकिन्छ ।

त्यसैगरी, नेता सापकोटाले सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दा शीघ्र टुंग्याउनुपर्ने आवश्यकता औंल्याउँदै अहिलेको राजनीतिक संकटको अन्तिम निकास निर्वाचन नै भएको धारणा व्यक्त गरे ।

समग्रमा, नेता सापकोटाको अभिव्यक्तिले नेकपा आगामी दिनमा गठबन्धनभन्दा अलग, स्वतन्त्र र वैचारिक स्पष्टतामा आधारित राजनीतितर्फ उन्मुख हुने संकेत दिएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !