२६ पुस २०८२, शनिबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस–एमाले गठबन्धनले संयुक्त प्रचार अभियान चलाउने

प्रकाशित मिति :  10 January, 2026 9:20 am


दाङ । आसन्न राष्ट्रिय सभा निर्वाचन लाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनले लुम्बिनी प्रदेशभर संयुक्त प्रचार–प्रसार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका रिक्त महिला, अपाङ्गता र अन्य क्लस्टरमा संयुक्त उम्मेदवारी दिएको कांग्रेस–एमाले गठबन्धनले प्रदेशको भूगोललाई तीन भागमा विभाजन गरी स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने कार्ययोजना तयार पारेको एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए ।

उनका अनुसार माघ २ गतेदेखि ५ गतेसम्म स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमअनुसार साविक भेरी अञ्चलका बाँके र बर्दियाका जनप्रतिनिधिसँग बाँकेको कोहलपुरमा, साविक राप्ती अञ्चलका रोल्पा, रुकुम पूर्व, प्युठान र दाङका जनप्रतिनिधिसँग दाङको घोराहीमा भेटघाट हुनेछ ।

त्यस्तै नवलपरासी, पाल्पा, कपिलवस्तु र रुपन्देहीका लागि बुटवलमा तथा अर्घाखाँची र गुल्मीका जनप्रतिनिधिसँग अर्घाखाँचीमै छलफल तथा प्रचार कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी प्रदेश सभा सदस्यहरूका लागि माघ ८ गते देउखुरीमा विशेष भेलाको आयोजना गरिने आचार्यले बताए ।

माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता र अन्य क्लस्टर गरी रिक्त तीन पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नेमा कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चा बाट दुई जना रहेका छन् ।

कांग्रेस–एमाले गठबन्धनतर्फ महिला क्लस्टरमा एमालेकी रामकुमारी झाँक्री, अपाङ्गता क्लस्टरमा कांग्रेसका बासुदेव घिमिरे जङ्गली र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट अपाङ्गता क्लस्टरमा सर्जन विक, अन्य क्लस्टरमा बृहस्पति अधिकारी र महिला क्लस्टरमा दुर्गा भण्डारी उम्मेदवार रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले अन्य क्लस्टरमा प्युठानका बोमबहादुर खत्री र महिला क्लस्टरमा प्युठानकी पद्मा पण्डितलाई उम्मेदवार बनाएको जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा कुल मतभार ८ हजार ७५३ रहेको छ । यसमध्ये नेपाली कांग्रेसको ३ हजार १७९, एमालेको २ हजार ८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २ हजार ६८६ मतभार रहेको छ ।



प्रतिक्रिया दिनुहोस !