कांग्रेस विशेष महाधिवेशन आजदेखि : नेतृत्व बहसको दबाब र ‘संकल्प प्रस्ताव’ को सम्भावित बाटो
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहल र अभियानकै रूपमा हेरिएको कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
पार्टीभित्र चुलिँदै गएको नेतृत्व परिवर्तनको बहस, संगठनात्मक असन्तुष्टि र भावी राजनीतिक दिशाबारे निर्णायक छलफल हुने अपेक्षासहित महाधिवेशन आयोजना गरिएको हो ।
महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपको खुला चौरमा हुनेछ । करिब ५० जना अतिथि अटाउने गरी निर्माण गरिएको मञ्च र छ हजारभन्दा बढी प्रतिनिधि बस्न मिल्ने कुर्सी व्यवस्थापनले महाधिवेशनको आकार र राजनीतिक महत्त्व झल्काउँछ। मञ्च वरिपरि कांग्रेसका झण्डा, ब्यानर, गेट तथा प्रचार सामग्रीले भृकुटीमण्डपलाई पार्टीमय बनाइएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए ।
आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट निस्कने र्यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलमा प्रवेश गराउने तयारी गरिएको छ। विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ।
आयोजकका अनुसार यसपटक विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई आमन्त्रण नगरिएको छ, जसले कार्यक्रमलाई पूर्णतः आन्तरिक राजनीतिक बहसमा केन्द्रित बनाएको छ ।
आयोजक समितिका अनुसार मुलुकभरबाट आउने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन् भने बाँकी आउने क्रम जारी छ ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा ३ हजार ६ सय प्रतिनिधिका लागि आवास व्यवस्था गरिएको छ । आवश्यक परे थप २–२ सय प्रतिनिधिलाई तत्काल समायोजन गर्ने प्रबन्धसमेत मिलाइएको छ ।
उद्घाटनपछि हुने बन्दसत्र पनि भृकुटीमण्डपको सभाहलमै सञ्चालन हुनेछ। यही बन्दसत्रलाई विशेष महाधिवेशनको सबैभन्दा संवेदनशील र निर्णायक चरणका रूपमा हेरिएको छ। प्रतिनिधिहरूले पार्टी नेतृत्व नै बदल्नुपर्ने माग उठाउने संकेत देखिएको छ। देशभरबाट आएका बहुमत प्रतिनिधिले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै परिवर्तनको मुद्दा अघि सार्ने तयारी गरेका छन् ।
तर, महामन्त्रीद्वय थापा र शर्मा भने यतिखेर नेतृत्व परिवर्तनले पार्टी विभाजनतर्फ लैजान सक्ने जोखिम रहेको निष्कर्षमा पुगेका देखिन्छन् ।
त्यसैले नेतृत्व परिवर्तनको सट्टा ‘संकल्प प्रस्ताव’ पारित गर्दै पार्टीलाई एकताबद्ध राख्ने रणनीतिमा उनीहरू केन्द्रित छन् । यही कारण विशेष महाधिवेशन संस्थापन पक्षका लागि पनि गम्भीर दबाब र चुनौतीको रूपमा प्रस्तुत हुने विश्लेषण गरिएको छ ।
यसैबीच, महाधिवेशन प्रतिनिधिको नाम दर्ता प्रक्रिया आज बिहान ८ बजेदेखि सुरु हुनेछ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार भृकुटीमण्डपको मूल गेट नजिकैका स्टलबाट नाम दर्ता हुनेछ । प्रतिनिधिले परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइज फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क साथमा ल्याउनुपर्नेछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार आज सुरु हुने विशेष महाधिवेशन केवल औपचारिक कार्यक्रम मात्र नभई कांग्रेसको भावी नेतृत्व, संगठनको दिशा र आगामी निर्वाचन रणनीतिका लागि निर्णायक मोड सावित हुन सक्नेछ ।








