चुनावी तयारीमा एमाले : केन्द्रीय सदस्यहरूको प्रादेशिक रणनीतिक बैठक
काठमाडौँ । केन्द्रीय कमिटीको बैठकमा भाग लिन काठमाडौँ आएका नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले प्रादेशिक रूपमा छुट्टाछुट्टै बैठक बसेर आगामी निर्वाचन लक्षित रणनीति बनाउन थालेका छन् ।
पार्टीका सातै प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सहभागी गराउँदै बैठक आह्वान गरेका हुन् ।
कतिपय प्रदेशका बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा भइरहेको छ भने कतिपयले आफूलाई अनुकूल हुने अन्य स्थानमा बैठक आयोजना गरेका छन् ।
केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति निर्माणलाई सहज बनाउने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।
आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका संयोजकहरूले बैठक आह्वान गरेका छन् भने मधेस, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशका बैठकहरू भोलिका लागि तय गरिएको छ ।
पार्टी स्रोतका अनुसार कतिपय प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं उपस्थित हुने तयारी पनि गरिएको छ। अध्यक्ष ओलीको उपस्थितिले बैठकहरू थप प्रभावकारी र निर्णयमुखी हुने अपेक्षा गरिएको छ ।
एमालेले केन्द्रीय तहका निर्णयहरूलाई प्रदेशस्तरमा कार्यान्वयन गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्रता दिने लक्ष्य लिएको नेताहरूले बताएका छन् ।








