२९ पुस २०८२, मंगलबार

कांग्रेसभित्र शक्ति परीक्षणको संघारमा वार्ता : सहमति नजुटे आजै निर्वाचनतर्फ जाने संकेत

प्रकाशित मिति :  13 January, 2026 7:45 am


काठमाडाैँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टिका बीच आज विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच निर्णायक वार्ता हुने तयारी छ ।

यस वार्तालाई केवल संवादको प्रयास मात्र होइन, पार्टीको आगामी दिशा र नेतृत्व संरचनामाथि हुने शक्ति परीक्षणको रूपमा हेरिएको छ ।

विशेष महाधिवेशनको अगुवाइ गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको टोली वार्तामा बस्न लागेका हुन् । उनीहरूको पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन् ।

उता संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुने तय छ तर वार्ताको पूर्वसन्ध्यामा नै दूरी र अविश्वासको संकेत देखिएको छ ।

विशेष पक्षले सभापति शेरबहादुर देउवा सहित संस्थापन पक्षलाई औपचारिक रूपमा बोलाए पनि देउवा समूह विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा उपस्थित भएन । उल्टै, देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत् प्रवाह गरिरहेको आरोप विशेष पक्षको छ ।

विशेष पक्षको दाबी अनुसार पार्टीका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरेका छन् । यदि संस्थापन पक्षले यसलाई बेवास्ता गरे, जारी विशेष महाधिवेशनबाटै निर्वाचन प्रक्रिया सुरु गरिने चेतावनी उनीहरूले दिएका छन्। यसले कांग्रेसभित्र औपचारिक विभाजनको जोखिम समेत बढाएको विश्लेषण गरिएको छ ।

यद्यपि आज हुने भनिएको वार्ताको स्थान र समय अहिलेसम्म सार्वजनिक गरिएको छैन । नेताहरूका अनुसार यही वार्ताले विशेष महाधिवेशनलाई सहमतितर्फ लैजाने कि टकरावतर्फ धकेल्ने भन्ने टुंगो लगाउनेछ । सहमति जुटे पार्टी एकताको बाटो खुल्नेछ, नत्र कांग्रेस आजै नयाँ राजनीतिक मोडमा प्रवेश गर्न सक्ने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !