२९ पुस २०८२, मंगलबार

उकालो लाग्दै सुनको मूल्य : प्रतितोला २ लाख ७६ हजार ५ सय कायम

प्रकाशित मिति :  13 January, 2026 12:59 pm


दाङ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र सुरक्षित लगानीतर्फ बढेको आकर्षणको असर नेपाली बजारमा प्रत्यक्ष देखिन थालेको छ ।

सुन र चाँदीको मूल्यले पुनः नयाँ उचाइ छोएपछि लगानीकर्ता उत्साहित देखिएका छन् भने आम उपभोक्ता भने बढ्दो मूल्यले चिन्तित बनेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो । यसअघि सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

चाँदीको मूल्य पनि उकालो लाग्दै प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीले नयाँ रेकर्ड कायम गरेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिनु स्वाभाविक हो ।

विश्व अर्थतन्त्रको अनिश्चितता, मुद्रास्फीतिको दबाब र भू–राजनीतिक तनावका कारण बहुमूल्य धातु सुरक्षित लगानीको रूपमा अझ आकर्षक बन्दै गएका छन् ।

लगातार बढ्दो मूल्यले विवाह तथा चाडपर्वका लागि गहना किन्ने उपभोक्तालाई केही समय ‘पर्ख र हेर’को अवस्थामा पुर्‍याएको छ भने दीर्घकालीन लगानीकर्ता भने यसलाई अवसरका रूपमा हेर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !