बिजुलीको पोल सार्दा करेन्ट लागेर दुई मजदुर गम्भीर घाइते
दाङ । सडक विस्तारजस्ता ठूला पूर्वाधार आयोजनामा श्रमिक सुरक्षाको सवाल पुनः उठेको छ । दाङमा निर्माणाधीन घोराही–तुलसीपुर सडकखण्डमा बिजुलीको पोल स्थानान्तरण गर्ने क्रममा करेन्ट लाग्दा दुई जना युवा मजदुर गम्भीर घाइते भएका छन् ।
घटना मंगलबार बिहान घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित फोरलेन सडकखण्डमा भएको हो । कामका क्रममा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ का २० वर्षिय राज साहु र २७ वर्षिय असिम खानलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लाग्दा साहुको पेटको भाग जलेको छ भने खानको अनुहार, घाँटी, हात र खुट्टामा गम्भीर जलन भएको छ । घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको थियो ।
प्रारम्भिक रूपमा हेर्दा सडक विस्तारका क्रममा विद्युतीय पोल सार्दा आवश्यक सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना नभएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
यो घटनाले विकास निर्माणका काममा संलग्न श्रमिकको सुरक्षा व्यवस्थापन कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ । स्थानीयवासी र सरोकारवालाहरूले यस्ता जोखिमपूर्ण काममा प्राविधिक सतर्कता र सुरक्षात्मक उपकरण अनिवार्य गर्न माग गर्न थालेका छन् ।








