३० पुस २०८२, बुधबार

काङ्ग्रेसमा जुटेन सहमति : निर्वाचनका कार्यक्रम अघि सर्दै विशेष महाधिवेशन पक्षधर

प्रकाशित मिति :  14 January, 2026 7:48 am


काठमाडाैँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिका सबै सम्भावित प्रयास असफल भएपछि अब पार्टीको दिशा र नेतृत्व तय गर्ने जिम्मा निर्वाचन प्रक्रियामै सरेको छ ।

रातभर चलेका वार्ताले कुनै ठोस निष्कर्ष ननिकालेपछि विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले पूर्वघोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार संस्थापन पक्ष महाधिवेशनलाई औपचारिक रूपमा स्वीकार गर्न तयार देखिए पनि सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरणका विषयमा अडानमै रहेपछि सहमति सम्भव हुन सकेन । यही कारण पार्टीभित्र लामो समयदेखि उठ्दै आएको नीति र नेतृत्व परिवर्तनको बहस अब मताधिकारमार्फत टुंग्याउने अवस्थामा पुगेको बताइएको छ ।

प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले अन्तिम क्षणसम्म पनि वार्ताको ढोका बन्द नगरिएको स्पष्ट पारे । “उताबाट सहमतिका प्रयास भइरहेको सूचना आएको छ, त्यसलाई हामी सम्मान गर्छौं,” उनले भने, “तर सहमति नजुटेमा निर्वाचन कार्यक्रम यथावत् अघि बढ्छ ।”

मंगलबार राति विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व चयन निर्वाचनमार्फत हुने स्पष्ट संकेत गरिसकेका थिए । उनीहरूका अनुसार पार्टीभित्रको राजनीतिक निकास अब प्रक्रियागत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने अवस्था आएको छ ।

यसैबीच, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र औपचारिक रूपमा समापन भएको छ । प्रतिवेदन पारित भएपछि विशेष महाधिवेशन पक्षधरहरू पदाधिकारी संरचना र नेतृत्वको खाकामा समेत छलफलमा जुटेका छन्।

केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार निर्वाचनलाई व्यवस्थित बनाउन मनोनयन दर्ताको समय पनि थप गरिएको छ। नयाँ तालिका अनुसार बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

आज बिहान पनि सहमतिका लागि संवादको ढोका खुलै राखिएको भए तापनि समानान्तर रूपमा निर्वाचन प्रक्रिया अघि बढाइने तयारीले कांग्रेसभित्रको शक्ति सन्तुलन अब निर्णायक मोडमा पुगेको संकेत गरेको छ। पार्टीको भावी नीति, नेतृत्व र दिशानिर्देशन अब कार्यकर्ताको मतबाट तय हुने लगभग निश्चित देखिएको छ।



प्रतिक्रिया दिनुहोस !