३० पुस २०८२, बुधबार

कानुनी बाटो खोज्दै कांग्रेस महामन्त्रीद्वय : सहमतिपछि पनि निर्णय खुला

प्रकाशित मिति :  14 January, 2026 11:55 am


काठमाडाैँ । नेपाली कांग्रेसभित्र जारी शक्ति संघर्ष र निर्वाचन प्रक्रियासँग जोडिएको विवादबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवासँग बुधबार बिहान भएको छलफल निष्कर्षविहीन भएपछि उनीहरू वैकल्पिक कानुनी उपाय खोज्न अग्रसर भएका हुन् ।

देउवासँगको छलफलमा प्रत्यक्षतर्फका उम्मेदवारको टिकट प्रक्रियामा अर्को व्यक्तिको हस्ताक्षर प्रयोग गर्न मिल्ने–नमिल्ने विषय केन्द्रमा थियो ।

सभापति देउवाले यदि कानुनअनुसार सम्भव हुने देखिए आफू त्यसमा तयार रहेको संकेत गर्दै निर्वाचन आयोग र कानुनका जानकारसँग राय लिएर टुंगो लगाउन सुझाव दिएका थिए ।

यही सुझावपछि महामन्त्रीद्वय थापा र शर्माले आफू निकट नेता तथा कानुनविद्हरूसँग परामर्श थालेका हुन् । केन्द्रीय सदस्य प्रकाश स्नेहीका अनुसार देउवासँग भएको छलफलबारे कानुनी दृष्टिकोण बुझ्न उनीहरू गहिरो छलफलमा जुटिरहेका छन् ।

राजनीतिक सहमतिमा पुग्न नसकिएको अवस्थामा कानुनी आधार खोज्नु कांग्रेसभित्र बढ्दो संस्थागत टकरावको संकेतका रूपमा हेरिएको छ ।

सहमतिभन्दा कानुनी वैधतालाई प्राथमिकता दिने प्रयासले पार्टीभित्रको निर्णय प्रक्रिया अब राजनीतिकभन्दा बढी कानुनी बहसतर्फ मोडिन थालेको विश्लेषण गरिएको छ ।

देउवासँग सहमति नजुटेपछि महामन्त्रीद्वय निवासबाट बाहिरिए पनि वार्ताको ढोका पूर्ण रूपमा बन्द नभएको नेताहरू बताउँछन्। तर, अबको निर्णायक मोड कानुनी व्याख्या र निर्वाचन आयोगको धारणा कति निर्णायक हुन्छ भन्नेमा निर्भर रहने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !