२५ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध,कारोना रोकथाममा खर्च भएको ९४ करोड रुपैयाँमाथी प्रश्न

प्रकाशित मिति :  26 June, 2020 12:50 pm


कैलाली, १२ असार ।

प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर बैठक अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीलाई बोल्ने समय दिएका थिए ।

चौधरीले कोरोना रोकथाम, सङ्क्रमितको उपचार व्यवस्थापन, क्वारेन्टिनको व्यवस्थापनजस्ता सबै काममा प्रदेश सरकार असफल भएको, योजना बाँडफाँटमा भ्रष्टाचार भएको भन्दै कोरोना उपचार र व्यवस्थापनमा भएको भनिएको ९३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी गराउन माग गरे । उनले पीसीआर परीक्षणको दायरा बढाउन माग समेत गरे ।

सभामुख थापाले प्रतिपक्षीबाट आएको विचारले सदनको ध्यानाकर्षण भएको र उठाइएका प्रश्नको सरकारले जवाफ दिन पनि सदन चल्नुपर्ने भएकाले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए ।

तर, प्रतिपक्षी दलका सदस्यले अवरोध कायमै राखेपछि सभामुख थापाले बैठक स्थगित गरेका हुन् । लगातारको अवरोधसँगै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट माथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असार १० गतेको बैठक पनि अवरुद्ध भएको थियो ।

आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !