३० पुस २०८२, बुधबार

काङ्ग्रेस विशेष महाधिवेशनको मतदान राति ८ बजे

प्रकाशित मिति :  14 January, 2026 3:35 pm


दाङ । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन प्रक्रिया औपचारिक रूपमा तीव्र चरणमा प्रवेश गरेको छ। निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेसँगै नेतृत्व चयनको प्रतिस्पर्धा स्पष्ट ढाँचामा अघि बढ्ने संकेत देखिएको छ।

निर्वाचन समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। नामावली सार्वजनिक भएसँगै आधा घण्टाको समयभित्र उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ, जसले आन्तरिक असन्तुष्टि वा कानुनी अड्चन समाधान गर्ने अवसर दिनेछ ।

दाबी–विरोधको प्रक्रिया टुंगिएपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने तालिका छ । यससँगै निर्वाचनको प्रतिस्पर्धी तस्बिर स्पष्ट हुने र पक्ष–विपक्षको राजनीतिक समीकरण खुल्ने अपेक्षा गरिएको छ ।

मतदान भने राति ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ । रातिको समयमा मतदान गर्ने निर्णयले लामो समयदेखि चलिरहेको राजनीतिक रस्साकस्सीलाई निष्कर्षतर्फ लैजाने विश्वास पार्टी वृत्तमा व्यक्त गरिएको छ ।

विशेष महाधिवेशनमार्फत पार्टीको भावी दिशा, नेतृत्व सन्तुलन र आन्तरिक शक्ति संरचना निर्धारण हुने भएकाले यो निर्वाचनलाई नेपाली कांग्रेसको निर्णायक मोडका रूपमा हेरिएको छ ।

नेपाली कांग्रेस भित्रको लामो समयदेखिको मतभेद र संवादहीनता अन्ततः मतपेटिकामार्फत समाधान हुने संकेतले राजनीतिक वृत्तमा चासो बढाएको छ ।



प्रतिक्रिया दिनुहोस !