पेट्रोल–डिजेलको मूल्य घट्यो : पेट्रोलकाे मूल्य प्रतिलिटर १५६ हुँदा अन्यकाे कति ?
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको मूल्य घटबढको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको हो । समायोजनपछि पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।
यो मूल्य संशोधन Indian Oil Corporation बाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा गरिएको निगम सञ्चालक समितिले जनाएको छ । निगमले अन्तर्राष्ट्रिय खरिद मूल्य अनुसार समय–समयमा मूल्य समायोजन गर्दै आएको छ ।
नयाँ दरअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ तोकिएको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।
मूल्य घटेसँगै यातायात, उद्योग र सर्वसाधारण उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।








