२ माघ २०८२, शुक्रबार

भाेलि एमाले सचिवालय बैठक बस्दै : प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउने

प्रकाशित मिति :  16 January, 2026 2:14 pm


काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेद्वार टुंगो लगाउन नेकपा एमाले ले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक भोलि माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयन हुने भएकाले सोहीअघि उम्मेद्वारको नामावलीलाई अन्तिम रूप दिने तयारी गरिएको हो ।

पार्टीका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले यसअघि नै उम्मेद्वारका नाम सिफारिस गरिसकेका छन् । सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढेको छ ।

हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हसहित आफ्नै उम्मेद्वार अघि बढाउने तयारी गरेको शाहीले जानकारी दिए ।

दुर्गम भेगका उम्मेद्वारलाई निर्वाचन क्षेत्रमा पुग्न तथा मनोनयनको तयारीका लागि समय लाग्ने भएकाले पनि सचिवालय बैठक बसेर भोलि नै उम्मेद्वारी टुंग्याउन लागिएको हो । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचनका लागि उम्मेद्वार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !