निर्वाचन आयोग निर्णय : कांग्रेस आधिकारिकता गगन थापा पक्षलाई प्रदान
काठमाडौँ । लामो समयदेखि विवादमा रहेको नेपाली कांग्रेसको नेतृत्वसम्बन्धी अन्योल अन्ततः निर्वाचन आयोगको निर्णयसँगै टुंगिएको छ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टी विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई वैधानिक ठहर गरेको हो । आयोगको यो निर्णयसँगै कांग्रेसभित्र समानान्तर दाबी गर्दै आएका दुवै पक्षबीचको विवाद औपचारिक रूपमा अन्त्य भएको छ ।
आयोगको निर्णय प्रक्रियामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधारले थापा पक्षको पक्षमा मत दिएका छन् । यद्यपि, निर्वाचन आयुक्त सगुनशमशेर राणाले फरक मत राखेको आयोग उच्च स्रोतले जनाएको छ ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि सो निर्णय कार्यान्वयनका लागि विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिइएको थियो । त्यसैबीच, पूर्णबहादुर खड्का पक्षका नेताहरूले पनि आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा छुट्टै निवेदन दिएका थिए ।
दुवै पक्षको दाबीपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि बोलाएर आवश्यक कागजात र प्रक्रिया अध्ययन गरेको थियो । त्यसको निष्कर्षस्वरूप आयोगले थापा नेतृत्वको समूहलाई नै आधिकारिक कांग्रेसको रूपमा मान्यता दिएको हो ।
आयोगको निर्णयसँगै अब कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा प्रयोग गर्ने अधिकार पनि थापा पक्षकै रहने भएको छ । यसले पार्टीभित्र देखिएको नेतृत्व विवाद अन्त्य हुनुका साथै आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीमा कांग्रेसलाई स्पष्ट दिशातर्फ अघि बढ्न सहज बनाउने अपेक्षा गरिएको छ ।








