३ माघ २०८२, शनिबार

घोराही–तुलसीपुरसँगै लमही–घोराही चारलेन सडक निर्माण प्रक्रिया अगाडि बढ्दै

दाङका प्रमुख सडक खण्डहरू चरणबद्ध रूपमा चारलेनमा स्तरोन्नति, बजेट सुनिश्चिततासहित कामले लिँदै गति
प्रकाशित मिति :  17 January, 2026 6:58 am


दाङ । दाङका प्रमुख सडकहरू अब नयाँ चरणको विकासतर्फ उन्मुख भएका छन् । घोराही–तुलसीपुर चारलेन सडकको निर्माण तीब्र भइरहँदा लमही–घोराहीदेखि सडक खण्डलाई चारलेनमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढेको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् ।

यस क्षेत्रका नागरिकको तीब्र प्रतिक्षामा रहेको लमही–घोराही सडक खण्ड चारलेन निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढिसकेको कार्यालय प्रमुख विष्टले लुम्बिनी सञ्चारसँग बताए । उनका अनुसार कटुवाखोलादेखि गोग्लीसम्म सडकलाई चारलेनमा स्तरोन्नति गर्न बहुवर्षिय ठेक्का सहमति तथा स्रोत सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगमा अनुरोध गरिसकेको छ । आयोगबाट स्वीकृति आएपछि ठेक्का आव्हान गरिने तयारी रहेको छ । यसले लमही–घोराही सडक खण्डको दीर्घकालीन विस्तारको बाटो खुल्ने देखिएको छ ।

यसैगरी लमही अर्जुनखोलादेखि घोराही बबई खोलासम्म सडक स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी कार्य सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा वातावरणीय अध्ययनको काम सम्पन्न गरेपछि आगामी आर्थिक वर्षमा बहुवर्षिय ठेक्का सहमति तथा स्रोत सुनिश्चितताका लागि फाइल पेश गर्ने योजना रहेको प्रमुख विष्टले जानकारी दिए । उनका अनुसार यस खण्डको स्तरोन्नतिले लमही र घोराहीबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।

भौगोलिक रूपमा जटिल मानिने मसोट खोला उकालो खण्डमा भने सिधै सडक स्तरोन्नति गर्नु कठिन भएकाले मसोट खोलादेखि चौपट्टासम्म बाइपास सडक निर्माण गर्ने गरी डिपिआर तयारी कार्य सम्पन्न गरिएको छ । वातावरणीय अध्ययन सम्पन्न भएपछि बहुवर्षिय ठेक्का सहमतिका लागि फाइल पेश गरिने योजना रहेको छ ।

यससँगै हाल जीर्ण अवस्थामा रहेको मसोट खोलाको पुल तथा बाइपास सडकका लागि आवश्यक पर्ने नयाँ मसोट खोला पुल आगामी आर्थिक वर्षमा निर्माणका लागि प्रक्रिया अगाडि बढाइने डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।

उता, लामो समयदेखि चर्चामा रहँदै आएको घोराही–तुलसीपुर चारलेन सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । २ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७ सय ८० रुपैयाँ २३ पैसा (भ्याट बाहेक) अनुमानित लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्ने गरी श्री दिवा–बन्दन भगवती जे.भी. ले निर्माणको जिम्मा लिएको प्रमुख विष्टले बताए । उनका अनुसार सडक ३० मिटर चौडा हुनेछ ।

२०८२ असार २४ गते ठेक्का सम्झौता भएको यो सडकलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ । हाल माटोपटान, सडक संरचनाहरू निर्माण, बिजुलीका पोल सार्ने काम, रुख कटान तथा छपानजस्ता कार्यहरू एकैसाथ सञ्चालनमा छन् । निर्माणस्थलमा देखिएको चहलपहलले यसपटक काम समयमै सकिने आशा जगाएको छ ।

यसअघि भने घोराही–तुलसीपुर सडकको अवस्था निकै निराशाजनक थियो । भारतीय एक्जिम बैंकको लगानीमा भारतीय ठेकेदारले काम सुरु गरेका थिए । छुट्टै परियोजनामार्फत अनुगमन गरिएको भए पनि पाँच वर्ष बितिसक्दा समेत १० प्रतिशतभन्दा कम काम भएपछि ठेक्का रद्द गरिएको थियो ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ ले पटक–पटक म्याद थप्दा पनि काम अघि बढाउन नसकेपछि २०८० जेठमा सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो । स्थानीय पेटी ठेक्कामार्फत काम गर्न खोजिए पनि निर्माणले गति लिन सकेको थिएन ।

ठेक्का सम्झौता तोडिएपछि सरकारले घोराही–तुलसीपुर सडक निर्माण आफैं गर्ने निर्णय ग¥यो । बजेट विनियोजन गरी नेपाली ठेकेदारलाई काम दिइयो र आयोजनाको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी डिभिजन सडक कार्यालय दाङलाई दिइयो । लामो समयसम्म अलपत्र परेको यो सडक अगाडि बढ्नुमा नेकपा एमालेका महासचिव शंकर पोखरेल को सक्रिय भूमिकालाई विशेष रूपमा स्मरण गरिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री रहेका बेला पोखरेलको पहलमा सडक निर्माणको स्वामित्व नेपाल सरकारले लिने निर्णय गरिएको थियो । करिब चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गराएर अलपत्र सडक निर्माणलाई अघि बढाउन उनले निर्णायक भूमिका खेलेका थिए ।

चारलेन सडककै विषयमा पोखरेलकै पहलमा २०८१ मंसिर ११ गते अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत करिब ३ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ को बहुवर्षीय ठेक्काका लागि स्रोत सहमतिका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसमक्ष पत्र पठाएको थियो ।

हालको योजनाअनुसार घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रलाई चारलेन बनाइने छ । चारलेन सडककै मापदण्डअनुसार पुलहरू पनि चारलेन बनाइने गरी केही खोलामा ठेक्का भइसकेको छ ।

लमही–घोराहीदेखि घोराही–तुलसीपुरसम्म सडक विस्तारका यी सबै प्रक्रिया दाङको दीर्घकालीन विकाससँग प्रत्यक्ष जोडिएका छन् । वर्षौंसम्म अल्झिएका योजना अब क्रमशः कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । सडक चौडा मात्र होइन, सुरक्षित, व्यवस्थित र दीगो बनाउने उद्देश्यसहित अघि बढेका यी योजनाले दाङलाई लुम्बिनी प्रदेशकै प्रमुख यातायात केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !