३ माघ २०८२, शनिबार

मौसम अपडेट : तराईमा तुँवालो–हुस्सुले दैनिक जनजीवन प्रभावित

प्रकाशित मिति :  17 January, 2026 7:14 am


काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणाली सक्रिय नभए पनि तराईका केही भू–भागमा देखिएको तुँवालो र हुस्सुले बिहान–साँझको जनजीवनमा असर पुर्‍याउने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तुँवालो लागेको छ भने पहाडी र हिमाली भू–भागमा मौसम प्रायः सफा रहेको छ ।

दिउँसो तराईका केही स्थानमा हुस्सुरकुहिरो कायम रहने अनुमान गरिएको छ । यसका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल देखिनेछ भने अन्य भू–भागमा मौसम खुला रहनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि तराईका केही क्षेत्रमा हुस्सु रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा नै रहने प्रक्षेपण छ । कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट रूपमा हल्का वर्षा वा हिमपात पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिइएको छ ।

मौसम सामान्य देखिए पनि तराईमा दृश्यता घट्न सक्ने भएकाले सवारीसाधन चलाउँदा तथा बिहानको दैनिकीमा सतर्कता आवश्यक रहेको मौसमविद्हरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !