४ माघ २०८२, आइतबार

संक्रमणकालमै राष्ट्रियसभाको अधिवेशन : निर्वाचन र विधायी निरन्तरताको परीक्षा

प्रकाशित मिति :  18 January, 2026 7:32 am


काठमाडौँ । राजनीतिक तथा भौतिक दुवै अर्थमा संक्रमणकालीन अवस्थामा राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर प्रयोगयोग्य नरहेपछि संघीय संसद् सचिवालयले सिंहदरबारस्थित वैकल्पिक व्यवस्थाबाट अधिवेशन सञ्चालन गर्न लागेको हो ।

आज बिहान ११ः०० बजे बस्ने पहिलो बैठकमार्फत राष्ट्रियसभा औपचारिक रूपमा अधिवेशनमा प्रवेश गर्नेछ । सीमित पूर्वाधार, सुरक्षा चुनौती र आगामी निर्वाचनको दबाबबीच सुरु हुन लागेको यो अधिवेशनलाई विधायी निरन्तरताको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

अधिवेशनको तयारी स्वरूप अध्यक्ष नारायणप्रसाद दाहालले यसअघि नै कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् । पहिलो बैठकमा अध्यक्ष दाहालले रामचन्द्र पौडेलबाट आह्वान गरिएको अधिवेशनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । साथै हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भइसकेको छ । संविधानको धारा ९३ को उपधारा (१) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ ४ गते आइतबारका दिन राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् ।

गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो । त्यसयता संसद् भवनको क्षति, राजनीतिक गतिविधि र निर्वाचनको तयारीसँगै संसद् पुनः सञ्चालनको प्रतीक्षा बढ्दै गएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारी तीव्र बनाएको छ । आयोगका अनुसार एक जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नयाँ सदस्यहरू चयन हुने प्रक्रियासँगै सुरु हुन लागेको यो अधिवेशनले आगामी राजनीतिक समीकरण र विधायी कार्यसूचीमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधारको अभाव, राजनीतिक संक्रमण र निर्वाचनको चापबीच सुरु हुन लागेको राष्ट्रियसभाको १९औँ अधिवेशन संसद् स्वयंको संस्थागत लचकता र लोकतान्त्रिक निरन्तरताको परीक्षणका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !