४ माघ २०८२, आइतबार

कांग्रेस विवाद कानुनी मोडमा : सर्वोच्च पुगे देउवा पक्ष

प्रकाशित मिति :  18 January, 2026 12:17 pm


काठमाडाैँ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको नेतृत्व विवाद अब औपचारिक रूपमा कानुनी लडाइँतर्फ मोडिएको छ । निर्वाचन आयोगले गगन थापा समूहलाई पार्टीको आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो ।

शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई राजनीतिक र कानुनी दुवै तहबाट चुनौती दिने निष्कर्ष निकालेसँगै आइतबार रिट दायर गर्ने प्रक्रिया अघि बढाइएको हो । सोही निर्णयअनुसार कानुनी समन्वयको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई दिइएको थियो ।

स्रोतका अनुसार देउवा पक्षका नेताहरू र कानुन व्यवसायीहरू अहिले सर्वोच्च अदालतमा उपस्थित हुने क्रम जारी छ । रिट निवेदनमा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती तथा अधिवक्ता शेरबहादुर केसी ले कानुनी साथ दिएको बताइएको छ ।

यसअघि गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेको थियो । सो महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोही कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि पार्टीभित्रको विवाद थप चर्किएको हो ।

देउवा पक्षले भने नियमित महाधिवेशनको मिति पहिल्यै तय भइसकेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नु पार्टी विधानविपरीत र अवैध भएको दाबी गर्दै आएको छ । उनीहरूको तर्कमा विशेष महाधिवेशनमार्फत गरिएको नेतृत्व चयनले पार्टीको संस्थागत प्रक्रियालाई कमजोर बनाएको छ ।

अब यो विवाद सर्वोच्च अदालतको व्याख्या र निर्णयमा निर्भर रहने देखिएको छ । अदालतको फैसलाले नेपाली कांग्रेसको आगामी नेतृत्व संरचना मात्र होइन, आन्तरिक लोकतान्त्रिक अभ्यासको दिशा पनि निर्धारण गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !